News

नारायणकाजीसहित क–कस्ले छोड्दैछन् माओवादी ?

नारायणकाजीसहित क–कस्ले छोड्दैछन् माओवादी ?

नेकपा माओवादी केन्द्रको पुस ११ देखि १८ सम्म चलेको राष्ट्रिय महाधिवेशनले परिमार्जन वा संशोधन नभई एमसीसी पास नगर्ने निर्णय गर्यो। तर, फागुन १५ गते बसेको पूर्व स्थायी समिति बैठकले एमसीसीमा रहेका केही बुँदाहरुलाई व्याख्यात्मक घोषणा गरेर संसदबाट पास गर्ने निर्णय गरेपछि माओवादी विभाजनको संघारमा पुगेको छ।

फागुन १५ गते बसेको संसद बैठकबाट अमेरिकासँग ५० करोड अनुदान सम्झौता एमसीसी र ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन भएपपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टी जनाए। उनको असन्तुष्टिलाई सम्वोधन गर्ने र सहमतिको विन्दुमा पुर्याउने भन्दा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नकारात्मक टिप्पणी गरेपछि पार्टीभित्र तिव्र ध्रुविकरण सुरु भएको छ।

एमसीसी अनुमोदन भएपछि वरिष्ठ नेता श्रेष्ठले ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराइ छाडे, आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्। सम्पूर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔँ, नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ’ भन्दै टिप्पणी गरेपछि प्रचण्ड चिढिए।

उनले सोमवार खुमलटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नारायणकाजीलाई पार्टी छोडेर गए आफुले नरोक्ने भनिदिए । प्रचण्डले पत्रकार सम्मेलनमा नेता श्रेष्ठको नामै लिएर पार्टीमा भएको निर्णयविरुद्ध बाहिर लेखेकोमा आपत्ति जनाएका थिए।

‘यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैँतिर आउँछन्, केन्द्रित हुन्छन्, जनता ह्वार्र मैतिर आउँछन् भन्ने ठानेर उहाँले सार्वजनिक रुपमै बोलिदिनु भएछ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसीविरुद्ध मुर्दावादका मुर्दावाद गरेका छन्। उनकै पछि सारा नेपाल लाग्नुपर्ने नि, एमसीसीको विरोध गरेकै भरमा ठूलो पार्टी हुने भए, भोट आउने भए किन प्रेमजीको भएन?’– उनले प्रश्न गरेका थिए।

यो अभिव्यक्तिपछि श्रेष्ठनिकटहरु प्रचण्डप्रति असन्तुष्ट छन्। दाहालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेलसहितका केही पूर्व स्थायी समिति सदस्यहरुले बाहिरिने तयारी गरेका छन्।

फागुन २० गते डाकिएको केन्द्रीय समिति बैठकसम्म कुर्ने, त्यहाँ आफ्ना कुरा राख्ने र अनि बाहिरिने उनीहरुको योजना छ। महाधिवेशनको निर्णयविपरीत एमसीसी अनुमोदन गराएको भन्दै श्रेष्ठसहितलाई नयाँ पार्टी बनाउन तल्लो तहका नेताहरुले तीव्र दबाब रहेको केन्द्रीय सदस्यहरुले वताएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या २ सय ४६ छ। एमसीसी पास गर्नु हुँदैन भनेर माओवादी केन्द्रले नयाँ बानेश्वर अगाडि बृहत् प्रदर्शन गराएको थियो। सो प्रदर्शनमा आएका नेताहरु पार्टीले निर्णय उल्ट्याएको भन्दै निराश भएर फर्केका थिए।

यो पनि
नारायणकाजीलाई पार्टी छोड्न किन उक्साउँदैछन् प्रचण्ड ?

नारायणकाजी श्रेष्ठ

विशेष