जीटुजीमार्फत रासायनिक मल आउने भएपछि किसान उत्साहित
नेपालको कूल मागको ३० प्रतिशत रासायनिक मल पाँच वर्षसम्म निरन्तर उपलब्ध गराउन भारत सरकार तयार भएपछि नेपाली किसानहरु उत्साहित भएका छन् । नेपाल सरकारको एक वर्ष ७ महिना लामो प्रयासपछि भारतबाट जीटुजीमार्फत रासायनिक मल ल्याउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
भर्चुअल माध्यमबाट भएको यो सम्झौता अनुसार पाँच वर्षभित्र नेपालले भारतबाट ९ लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल खरिद गर्ने छ । तर अहिलेसम्म मलको मूल्य भने तोकिएको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रकाश कुमार सञ्जेलका अनुसार प्रत्येक वर्ष भारतबाट कम्तिमा एक लाख ५० हजार मेट्रिकटनदेखि बढीमा २ लाख १० हजार मेट्रिकटन युरिया र डीएपी मल खरिद सुनिश्चित भएको छ ।
नेपालले ग्लोबल टेण्डरबाट खरिद गर्ने गुणस्तरकै मल ल्याउने गरी भएको सम्झौतामा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मा र भारतको तर्फबाट भारत सरकार रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले हस्ताक्षर गरेका छन् ।
उक्त अवसरमा नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थिति थियो। भारतीय सचिव चतुर्वेदीले भारत र नेपालबीचको निकट एवम् बहुपक्षीय सम्बन्धको चर्चा गरे। उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पु-याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा गरे।