News

प्रकाश सपुतको गीत विवादमा पर्ने यस्ता छन् ६ कारण

प्रकाश सपुतको गीत विवादमा पर्ने यस्ता छन् ६ कारण

गायक प्रकाश सपुत ‘विक’ले सार्वजनिक गरेको पछिल्लो नयाँ गीत ‘पीर’ विवादमा परेपछि अनेक तर्क-वितर्क सुरु भएका छन् । माओवादी जनयुद्ध पीडितको कथालाई लिएर तयार गरिएको गीतको  शब्द र संगित भन्दा पनि कथालाई लिएर वढि विवाद देखिएको छ। 

गीतका केही दृष्यलाई लिएर माओवादी केन्द्रका नेताहरूले विरोध जनाएका छन् । गीत सार्वजनिक भएपछि वाईसियल इञ्चार्ज नेता रामप्रसाद सापकोटा दीपशीखाले माओवादी जनयुद्ध लड्ने महिला छापामारको अभावलाई देह व्यापारमा लगेको जसरी चित्रण हुनु गलत भएको वताएका छन् ।

यस्तै, अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले पनि गीतप्रति टिप्पणी गरेकी छिन। उनले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको विषय स्वीकार गरेपनि जनयुद्ध लडेका महिला छापारमा शरीर बेचेर जिविका चलाई रहेको सन्देश दिने गरी गीतमा दृश्य समावेश गरिएकोमा आपत्ति जनाएकी छिन् । खासमा गीत विवादमा पर्नु पर्ने कारणहरु यस्ता छन् ।

गीत होकी डकुमेन्ट्री ?
खासमा ‘पीर’ गीत हो कि कथा हो? भन्ने नै अन्योल छ। सुरुमा लामो कथा वाचन गरिएको छ। सामान्यतया मनोरञ्जनका लागि बन्ने गीत बढिमा ५ मिनेटको हुन्छ। यो गीत १६ मिनेटको छ।  यसलाई डकुमेन्ट्री भन्ने कि गित भन्ने अन्यौल छ।

महिलाको अपमान
कथाको एक ठाउँमा ‘आईमाई’ शब्दको प्रयोग भएको छ। कथाकी महिला पात्रले ‘आईमाई विदेश जान हुदैन र ?’ भनेर पुरुष पात्रलाई प्रश्न गरेकी छिन् । खास गरी आईमाई शब्दलाई अपमानजनक शब्दका रुपमा वुझ्ने गरिएको छ। ‘आइमाई’ शब्दको प्रयोगले महिलाहरुले आफुलाई हेपिएको महसुस गर्ने गरेका छन् । त्यसैले आईमाईको ठाउँमा आजभोली ‘महिला’ शब्द प्रयोग गर्ने गरिन्छ। 

वुढापाकाहरुका अनुसार राजतन्त्रकालमा कारणबस महारानीबाट सन्तान भएनन भने सन्तान प्राप्तिका लागि दरबारमा राखिने महिलालाई ‘आईमाई’ शब्दले चिनिन्थ्यो। विस्तारै यो शब्द नारीजातीको प्रर्यायको रुपमा प्रयोग भयो। प्रकाश सपुतको गीतमा जनयुद्द लडेका महिलालाई यौनकर्मीको रुपमा चित्रण गर्नु र आईमाई शब्दको प्रयोग गर्नुले नितान्त जनयुद्दलाई बदनाम गराउने पुजीवादीहरुले षड्यन्त्र गरेको कतिपयले आरोप लगाएका छन् ।

नेताहरुको वदनाम
प्रस्तुत कथामा जनवादी विवाह समारोहमा दुश्मनको आक्रमण हुन्छ। विवाह वन्धनमा वाँधीदै गरेका छापामारले कमाण्डरको सुरक्षा गर्छन। यसैक्रममा महिला छापामारलाई गोली लाग्छ। घाईतेलाई सोही अवस्थामा छोडेर कमाण्डर भाग्छन्। शान्ति प्रकृयापछि छापामारकी श्रीमती विदेश गएको र एजेण्टले वदमासी गर्दा उतै वन्धक भएको खवर आउँछ। उनका पति तत्कालिन कमाण्डर समक्ष याचना पत्र वोकेर पुग्छन्। कमाण्डरलाई पुरुष पात्रले अभिवादन गर्छन। एक पटक नदेखे झै गरेपछि अर्को पटक पनि गर्छन। तर, पनि जवाफ आउँदैन। उनले श्रीमती विदेशमा वन्धक वनेकाले उद्दार गरिदिन निवेदन दिन्छन्। तर, त्यसको वेवास्ता गर्दै कमाण्डर गाडि चढेर हिड्न। पुरुष पात्रले दिएको निवेदन त्यही फालिएको हुन्छ।

अव वास्तविक्तामा फर्कौ, शान्ति प्रकृयामा आएपपछि मावोवादी नेताहरु सुविधाभोगी भए होलान। लाल सलामको जवाफ फर्काएनन् होला। तर, जनयुद्ध लडेका र आफनै सुरक्षा गार्डका रुपमा रहेका कार्यकर्ताले दिएको निवेदन फालेर हिड्ने हिम्मत चै गरेका छैनन्। जनयुद्दका लडाकुहरुलाई भिडियोमा देखाए जस्तो अपमान भने गरेका छैनन्। यो भिडियो अलि अस्वभाविक देखिन्छ।

अमुर्त कुरा, गम्भिर आरोप
मनोरञ्जनात्मक गीतमा ‘गौरवशाली’ पार्टिका योद्दा यौनकर्मी हुनुपरेको चित्रण गर्नु स्वभाविक होईन। अमुर्त रुपमा आरोपहरु त अनेक लाग्छन। महिलाहरुलाई एनजीओ मार्फत यौनकर्मी बनायो भनेर सामाजिक सञ्जालमा नेकपा एमाले विरुद्ध पनि आरोप लागेका थिए। एमालेलाई छोरी पनि नदिनु, विवाह पनि नगर्नु भनेर चर्चा चलेकै हो। यसको अर्थ के एमालेले घर-घरमा वेश्यालय खोलेको हो त ? पक्कै पनि होईन। 'त्यसैले प्रकाश सपुतले वनाएको गीतमा छापामारहरु यौन ब्यवसायमा संलग्न भएको देखाउनु सम्पुर्ण महिला छापामारहेको अवस्था यस्तै हो भनेर चित्रण गर्न खोजिएको छ, त्यसैले यो आपत्तिजनक छ।’-माओवादी नेताहरु भन्छन्।

अपुष्ट तथ्यांक अनुसार काठमाण्डौंमा करिव १० हजार यौनकर्मी रहेको बताईन्छ। उनीहरुको औशत उमेर १५ वर्षदेखि ३५ वर्षसम्म होला। कतिपय त शान्ति सम्झौतापछि जन्मिएका पनि होलान। अहिले यौन ब्यवसाय गरिरहेका सवैले बन्दुक उठाएका थीए त ? अर्कोतर्फ देशको अस्थिर राजनीतिका कारण आम नेपालीलाई जिविकोपार्जनमा समस्या छ।  नागरिक प्रताडित छन्। सबै मान्छेका समस्या छन्। आम नेपालीको अवस्था जस्तो छ, माओवादीको पनि त्यस्तै छ। के मावोबादी वाहेक अन्यको अवस्था चै उनीहरुको भन्दा हुनेखाने, आलिशान जिवनशैली छ र ? अर्कोतर्फ कतिपयले यौनकर्मी बन्नु परेको होला पनि। तर, यो उनीहरुको रहर होईन वाध्यता हो। र जनयुद्धका कारण त्यहाँ पुगेका पनि होईनन् भन्ने कतिपयको विश्लेषण छ।


सिमेन्ट र वैंकको अनावश्यक र अस्वभाविक विज्ञापन
‘पीर’ गीतको रुपमा भन्दा पनि विज्ञापनका लागि वनाईएको जस्तो देखिन्छ। गीतमा विज्ञापन भन्दा पनि विज्ञापनमा गीत मिसाईएको छ। त्यसमाथी शिवम सिमेन्ट आफै विवादित उद्योग हो। जसलाई गैरकानुनी रुपमा प्रकृतिको दोहन गरेको, स्थानीय क्षेत्रमा प्रदुशण फैलाएको र प्रदुशण घटाउन कानुनले वाध्यकारी वनाएका न्युनतम मापदण्ड समेत कार्यान्वयन नगरेको आरोप लाग्ने गरेको छ।

यसैगरी, प्रभु वैंकलाई पनि दलाल पुँजीपतिको सम्पत्ति संरक्षण गरेको आरोप लाग्छ। ग्रामिण क्षेत्रमा निक्षेप संकलन गरी ठुला शहरका पुँजिपति र धनाढ्यहरुलाई लगानी गर्ने गरेको यो वैंकमाथि आरोप छ। पुँजीको दलाली गरेको र जनतालाई ठगेको आरोप लाग्ने गरेको छ। शिवम् सिमेन्ट र प्रभु वैंकले  माओवादीले ‘महान’ भन्ने गरेको जनयुद्धको धज्जी उडाउन प्रायोजन गर्नु आश्चर्य जनक रहेको माओवादी केन्द्रका एक नेताले वताए ।

अधिकारको खिल्ली

प्रकाश सपुतले ‘पीर’ गीत मार्फत जनयुद्धका कारण प्राप्त अधिकार र उपलब्धिको खिल्ली उडाएको कतिपयले आरोप लगाउन थालेका छन् । जानकारी अनुसार प्रकाश सपुत दलित क्षेत्रबाट उदायका गायक हुन । प्रारम्भिक कालमा उनले पनि जातिय विभेदका धेरै हण्डर खेपेका छन् । ‘मेला/महोत्सवतिर गीत गाउन जाँदा दिनभरी ‘हाइहाइ’ गर्ने अनि जव रात बिताउने कुरा हुन्थ्यो अनि समस्या आउँने गरेको थियो’ आफनो दुःख सम्झदै उनले भनेका छन्–‘सुत्न त अलि नमिल्ला, भनिहाल्थे। यति मात्रै होईन, सानो हुँदा हाम्रो घरमा टिभी थिएन, अर्काको घरमा टिभी हेर्न जाँदा घर भित्र छिर्न पाईदैनथ्यो। एक/डेढ घण्टा झ्यालबाट मुन्टो मात्रै छिराएर टिभी हेरेर पनि फर्केको छु।’

यसरी विभेद सहेर आएका प्रकास सपुतले जव जनयुद्धको वलमा ‘समान अधिकार’को अवसर पाए, अनि त्यही जनयुद्ध र छापारमा विरुद्धमा गीत वनाउन थालेको नेताहरु वताउँछन् । ‘जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेको, राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित भएको कुरा प्रकाश जी तपाईंलाई बुझाईरहन नपर्ने हो’ अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष सिंह भन्छिन–‘जनयुद्धमा सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातिय विभेद बिरुद्ध लडेका थिए भन्ने कुरा यति चाँडै भुल्नु भयो ?’

यसैगरी अन्य केही नेताले भने सपुतप्रति ब्यंग्य गरेका छन् । ‘माओवादी जनयुद्द नभएको भए सायद प्रकाश सपुत ‘चौतारामा राजा भेटियो, चौतारोमा रानी भेटियो’ वोलको गीतको रिमिक्स गरेर गाईरहेका हुन्थे’ भन्दै उनीहरुले ब्यंग्य गरेका छन्। जनयुद्दको राप र तापले आर्जित गणतन्त्र र लोकतन्त्रका कारण प्रकाश विश्वकर्माले यो गीत बनाउन सकेको भन्दै उनीहरुले लोकतान्त्रिक अधिकारको दुरुपयोग भएको आरोप लगाए ।

राम्रा पक्ष पनि छन्
माओवादीप्रति आशा गरेका नेपाली जनताको अपेक्षा पुरा नभएको र नेताहरु सुविधाभोगी भएको कुरा गीतले प्रष्टयाएको छ। गीतमा युद्धका घाउ देखाईएको छ। राज्य र विद्रोही पक्षले नेतृत्वमा बसेर मच्चाएको हिंसाका प्रमाण वोकेको छ। माओवादी नव धनाढ्यहरूको महल कसरी आम ‘वीर’ योद्धाहरूको रगत, हाड र मासुले बनेको छ भन्ने उजागर गरेको छ। 

यसैगरी, पूर्वसहकर्मी महिला साथी भन्ने चिनेपछि पुरुष पात्र यौनसम्बन्ध नगरी तुरुन्तै फर्किएको तथ्य देखाईउको छ। जतिसुकै निराश भए, जति पीर परे पनि भूइँतहका माओवादी ‘वीर’हरू आज पनि आपसी सम्बन्धलाई कति पवित्र सम्झन्छन् भन्ने देखाईएको छ। राष्ट्रप्रेम र देशभक्ति गीतमा समेटिएको छ। समग्रमा औसत रुपमा अहिलेको देशको अवस्थालाई गीतले समेटेको छ।
 

प्रकाश सपुत पीर

विशेष