News समाज राजनीति

प्रकाश सपुतको गीतबाट किन आत्तिए माओवादी कार्यकर्ता ?

प्रकाश सपुतको गीतबाट किन आत्तिए माओवादी कार्यकर्ता ?

गायक प्रकाश सपुत आफनो नयाँ गीत ‘पीर’ का कारण अहिले चर्चामा छन्। संगीत क्षेत्रको सीमा पार गरेर उनको गीतले राजनीतिलाई हस्तक्षेप गरेको छ। जसका कारण राजनीतिक वृत्त तरंगित छ। 

माओवादी लडाकुको कथा र ब्यथा समेटेर तयार गरिएको गीती भिडियोका कारण खास गरी माओवादी नेताहरु पिरोलिएका छन्। जनताको अधिकारका लागि भएको जनयुद्ध जनता त परै जाओस लडाकुकै लागि नभएको विषय गीतले देखाएको छ। मायाँ पिरतीभन्दा माथि उठेर गीतले समाजमा एक प्रकारको छाप छोड्न सफल भएको छ। गीत मार्फत उनले वैचारिक बहसको सिर्जना गरेका छन्। यस अर्थमा पनि उनको गीत चर्चामा छ। विवादकै रुपमा किन नहोस।

गीतका केही कमजोर पाटा अवश्य छन्, तर सपुतको गीतले माओवादीका नेता÷कार्यकर्ता छटपटिएका छन्। मुलधारका तथा पहिलो पुस्ताका नेताले खासै वास्ता नगरेझै गरेपनि दोस्रो÷तेस्रो पुस्ता तथा जनवर्गिय संगठनका नेताहरु प्रकाश सपुत विरुद्ध खनिएका छन् । 

गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज रामप्रसाद सापकोटा दीपशीखा, जिल्ला तहका नेता लिलाधर रिमाल, अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलगायतले सपुतको आलोचना मात्रै गरेका छैन्, युट्युवबाट नहटाए जे पनि हुन सक्ने सम्मको धम्की दिएका छन्।

पञ्चा सिंहले सपुतलाई सार्वजनिक माफि मागेर तत्काल भिडियो नहटाइए गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिएकी छिन्।

यसैगरी, लिलाधर रिमालले माओवादी जनयुद्धले गणतन्त्र, संविधान, संघीयता, सबैखाले उत्पीडनको अन्त्य, राजनीतिक चेतना लगायत थुप्रै परिवर्तन ल्याएको वताउँदै भिडियो नहटाए त्यसको प्रतिकार महंगो पर्ने चेतावनी दिएका छन् । ‘माओबादी जनयुद्धले गणतन्त्र, संविधान, संघीयता, सबैखाले (जातीय, क्षेत्रीय ...) उत्पीडनको अन्त्य, राजनीतिक चेतना लगायत थुप्रै परिवर्तन ल्यायो । यो लडाई मृत्युसँगको सीधा–सीधा लडाई थियो’ उनले भनेका छन्–‘नेपाली जनताको त्यो महान लडाइलाई घोर निरासाको कोणबाट विश्लेषण गर्दै महान क्रान्तिकारी योद्धालाई देह व्यापारमा संलग्न देखाउनु प्रकाश सपुतको गम्भीर अपराध हो। यो गीत तुरुन्त हटाइयोस् अन्यथा यसको प्रतिउत्तर प्रकाश सपुतलाई महंगो पर्नेछ।’

अर्कोतर्फ माओवादी जनयुद्धका अगुवा तथा पुर्व प्रधानमन्त्री बावुराम भट्टराईले भने गीतमा आपत्ति मान्नु पर्ने कुरा नभएको प्रतिक्रिया दिएका छन् । ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु। त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन’ उनले भनेका छन्–‘गीतले जनयुद्धको विरोध गरेको छैन। अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ। त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन धम्काउने?’

यसैगरी, पत्रकार तथा टेलिभिजन कार्यक्रम प्रस्तोता नारायण पौडेलेको सुक्ष्म विश्लेषण गरेका छन् । उनी लेख्छन्– सपुतको पीरलाई लिएर धेर पीर मान्नु पर्ने छैन है कामरेडहरु । नेताहरुले ‘फर्गेट यस्टर्डे’को रणनीति लिएको प्रतिशोधमा देखाइएको ‘डु नट फर्गेट यस्टर्डे’ वाला कार्यनीति हो यो । एकअर्कामाथि राष्ट्रघातको आरोप लगाइरहेका कामरेडहरुले बुझ्नुपर्छ देश–ब्यापारभन्दा देहब्यापार उत्तम हो । छापामार कोही देहब्यापारमा लागे नलागेको थाहा भएन, कोही लागेकै भएपनि अपराध हो र? महिला छापामारले त खै, पुरुष कमाण्डरले गरेका एकाध घटना त छरपष्ट छन । 

कुरा रह्यो, गीतको ! यो गीतलाई रातारात ट्रेंडिंग गराउन उग्रप्रतिक्रिया कै हात छ । शिघ्र, तिब्र र उग्र प्रतिक्रिया राजनीतिक स्वास्थ्यका लागि हानिकारक भन्ने कुरा बुझ्न जरुरी छ । 

सिंगो गणतन्त्रको जस माओवादीको पोल्टामा पारेर सपुतले योद्धाहरुलाई पनि नविर्स है भन्न खोजेका हुन भनेर अर्थाए भैहाल्यो । आखिर सृजनाको ब्याख्या सर्जकले होईन ग्रहणकर्ताले गर्ने हो । कलाको ब्यापार भनेर भन्नै परेन, सिमेन्ट र प्रभुको बिज्ञापनबाट प्रष्ट छ । अब सो गीतलाई थप गिजोलेर बुष्टरको काम नगरम कामरेडहरु ! बाँकी आपकी मर्जी !

यो पनि
प्रकाश सपुतको गीत विवादमा पर्ने यस्ता छन् ६ कारण

प्रकाश सपुत पीर

विशेष