News

खुम्बु पासाङल्हामु गाउँपालिको खानेपानी आपूर्ति परियोजनाको उद्घाटन

खुम्बु पासाङल्हामु गाउँपालिको खानेपानी आपूर्ति परियोजनाको उद्घाटन

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका स्थित खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको उद्घाटन गरिएको छ। राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा  र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले आज संयुक्त रुपमा परियोजनाको उद्घाटन गरेका हुन ।

‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारतको ४ करोड २३ लाख ९० हजार अनुदान सहयोगमा यो परियोजना निर्माण सम्पन्न भएको हो। यो परियोजना मार्फत खुमजुङ र कुण्डे क्षेत्रका ६ घरपरिवार तथा विद्यालय, अस्पताल, सरकारी कार्यलय र घुम्न आउने पर्यटक समेत लाभान्वित हुने छन् ।

परियोजना सञ्चालनले पानीका लागि घण्टौं हिड्नु पर्ने समस्याबाट स्थानीयले मुक्ति पाएका छन्। भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इण्डिया एट ७५’ आजादीका अमृत महोत्सव अन्तर्गत नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको यो एक हो । 

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाएको छ। जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये सोलुखुम्बुका २ गरी प्रदेश १ मा ७८ वटा छन् । यसका अतिरिक्त भारत सरकारले सोलुखुम्बु जिल्लामा ३ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

विशेष