News

महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन 

महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन 

भोजपुरको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले विहिवार अस्पताल भवनको उद्घाटन गरेका हुन् ।

भारत सरकारको नेपाली रुपैयाँ २ करोड २६ लाखको लागतमा अस्पताल भवन निर्माण गरिएको हो। १५ शैय्याको यो अस्पतालमा प्रसुति कक्ष, चौबिसै घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतीक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुकका लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था गरिएको छ ।

यस अस्पतालले भोजपुर जिल्ला र आसपासका अन्य जिल्लाका मानिसलाई गुणस्तरीय स्वास्थ्य सेवामा अझ राम्रो पहुँच पुग्ने दूतावासले विश्वास लिएको छ।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यो परियोजना पूरा गरिएको हो । महोत्सवअन्तर्गत यो परियोजना यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरू मध्येको एक हो ।

कार्यक्रममा खम्पाले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताइन् । त्यस्तै, मन्त्री कार्कीले भारत सरकारको निरन्तर सहयोगका लागि आभार प्रकट गरेका थिए ।
 

विशेष