News

ओलीको ब्यंग्यः लाहछाप लगाए पनि मतपेटिका चै आँखै अगाडि राख्नुपर्छ

ओलीको ब्यंग्यः लाहछाप लगाए पनि मतपेटिका चै आँखै अगाडि राख्नुपर्छ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मतपेटिका आफूहरूको आँखै अगाडि राख्नुपर्ने बताएका छन् । लाहछाप लगाए पनि कोठाभित्र राखेका बाकसको भर नहुने भन्दै त्यसको पहरेदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माओवादीले चुनावमा धाँदली गर्दै आएको र अवका निर्वाचनमा पनि त्यसै गर्न सक्ने कुरालाई संकेत गर्दै सचेत हुन आग्रह गरे। माओवादी केन्द्रलाई यसअघि पनि एमालेले बचाइदिएको दाबी गरेका उनले स्थानीय तह निर्वाचनमा माओवादी राजनीति समाप्त हुने टिप्पणी गरे । 

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदने उनले बताए। कार्यकर्तालाई निर्देशन दिदै उनले पाँच वर्षअघि २३ मा झरिसकेकोले कांग्रेसलाई अब १३ सिटमा झारिदिनु पर्ने बताए। 

६० वर्षमाथिका ज्येष्ठ नागरिकले कांग्रेसलाई भोटै नदिने दावी गरेका ओलीले युवाहरूले झन कांग्रसमा भोट हाल्नुपर्ने कारण नभएको जिकिर गरे । कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भनाइ छ । ‘कांग्रेसले जे पनि बोल्छ, उसको यो पुरानो बानी हो । तपाईं हामीले सुनेका छौं ६० वर्षमाथिका बूढाबूढीलाई कम्युनिस्ट सरकार बन्यो भने गोली हानेर मार्छ भन्थ्यो। अब बूढाबूढीको छेउमा कांग्रेस जाओस् त’ उनले थपे–‘केही मुद्दा नपाएर अव कांग्रेसले अघिल्लो सरकारको भण्डाफोर गर्ने रे ।’

‘बुढो भएर पनि शेरबहादुर देउवा कांग्रेसमा अडिएको कारण चै आफुसँग पर्याप्त पैसा भएर मात्रै हो’ भन्दै ओलीले ‘पैसाको कमी हुँदो हो त लौरो टेकेर उनी पनि एमालेमै आउँथे’ भन्दै वृद्धभत्ताको वढाई गरे। 

एकीकृत समाजवादीलाई पार्टी नै नबनेको भन्दै ओलीले स्थानीय तहको निर्वाचनमै माधव नेपालको राजनीति समाप्त हुने वताए । 

विशेष