किन कार्यकर्ताको हात धुनमै ब्यस्त छन दलका नेता ?
नेता हिजो पनि जनताको भरोसाका केन्द्र थिए, आज पनि छन्
भनिन्छ, पत्रकारिता समाजको ऐना हो। पत्रकार स्वतन्त्र, निस्पक्ष, इमान्दार हुन्छन र अन्यायमा परेका तथा निमुखाको आवाज वोल्छन्। त्यसैले त नागरिकले समाचारलाई आँखा चिम्लिएर विश्वास गर्ने समय थियो।
प्रविधिको विकाससँगै अव पहिलेको जस्तो अवस्था छैन। सामान्य नागरिक पनि सुचनामा पहुँच राख्न सक्ने भएका छन् । समाचारलाई जस्ताको त्यस्तै विश्वास गर्नुपर्ने वाध्यता छैन। त्यसैले अहिले समाचार पनि फिल्टर हुन्छन्। एउटै समाचार धेरै वटा मिडियामा पढेपछि मात्र त्यस विषयमा नागरिकले आफनो धारणा वनाउँछन् ।
यसको अर्थ हो– पत्रकारिता पनि डग्मगाएको छ। हुन त समाचारमा शब्दको ‘खेल’ हुन्छ। एउटा शब्द मात्रैले पनि समाचारलाई भिन्न अर्थ दिन सक्छ। उदाहरणका लागि ‘एउटा पत्रिकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशका ५० प्रतिशत नेताहरु भ्रष्टाचारी छन । भोलीपल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ। तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर। सम्पादकले पनि हुन्छ म भोलिको पत्रिकामा समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ। भोलीपल्टको पत्रिकामा समाचार छापियो–हाम्रो देशका ५० प्रतिशत नेताहरु भ्रष्टाचारी छैनन।’
यही विषयमा पछिल्लो समय काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको पनि चित्त दुखाई छ। शाक्यले मिडियामा आएका हेडलाइनहरुले आफनो छवि विगारेको आरोप लगाएका छन् ।
आफ्नो कार्यकालमा सम्पदा क्षेत्रमा भएको कामबारे जानकारी गराउन शुक्रबार पत्रकार सम्मेलन गरेका मेयर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद सञ्चारमाध्यममा आएको हेडलाइन जस्तो नभएको बताए ।
विवादको विषयमा जे–जे हेडलाइन आए त्यस्तो हैन भन्दै उनले ‘कन्टेनमा ठिक थियो । तर हेडलाइनमा अलि कडा आउँदा धेरै ठूलो हो कि जस्तो लागेको’ वताए।
आफ्नो कार्यकालमा जनता खुसी भएको भन्दै उनले यसले आफू पनि सन्तुष्ट भएको बताए । पहिले बनाउन नसकिएको मन्दिर र गुठी आफ्नो कार्यकालमा बनेको भन्दै यसले जनताहरु उत्साहित भएको शाक्यको भनाई छ ।
यस्ता हुन्छन् नेताका समस्या
राजनीति जतिसुकै गन्हाएपनि दलका नेता अहिले पनि जनताको भरोसाका केन्द्र हुन । देश विकास नगरेपनि छोराछोरी विदेश पठाउँदा, सन्तानले गलत वाटो समाएर प्रहरी नियन्त्रणमा पर्दा, सानातिना जागिरका लागि प्रयास गर्दा, एसईई दिदा, ठेक्कापट्टा वा उपभोक्ता समिति वनाउँदादेखि विलभौचर मिलाएर पैसा निकाल्न सक्ने हरेक ठाउँमा जनताले नेताको साथ खोज्छन् ।
यस्तै बिभिन्न समस्या लिएर मानिसहरु नेताको घरमा पुग्छन। कतिपय शिर्ष नेताहरुको घरमा आफ्नो समस्या लिएर कार्यकताको लामो लाईन हुन्छ। उनीहरुलाई खुवाउनु÷चुठाउनु पर्ने, जागिर लगाईदिनु पर्ने, ठेक्कापट्टा मिलाईदिनु पर्ने, घर झगडा र साँधसिमानामा विवाद हुँदा कानुनी कुरा मिलाईदिनु पर्ने बोझ नेताले नै वोक्छन् ।
ढोकामा आएका जनतालाई नेताले इन्कार गर्न सक्दैनन्। कार्यकर्ता र जनताको बेवास्ता राजनैतिक रुपमा उनीहरुलाई घाटा हुन्छ। आफुलाई जति प्रभावशाली, धनी र शक्तिशाली देखाउन सक्यो, त्यति नै मान्छेहरु पछि लाग्ने नेताहरुको बुझाई हुन्छ। धन आर्जन गर्नु उनीहरुको बाध्यता हो।
एक÷दुई वाहेक कार्यकर्ताका अधिकांश समस्याहरु अवान्छित नै हुन्छन। र पनि उनीहरुले कार्यकर्ताको कुरालाई हुँदैन भन्न सक्दैनन्। सकेको गरिदिन्छन, नसक्ने छ भने पनि प्रयास गर्छु भन्छन।
नेताहरुले आफ्ना कोर कार्यकर्तालाई चेप्नै पर्छ। शिर्ष नेताहरुले कतिपय परिवारको चुलोमा आगो बाल्नेदेखि रोजीरोटीको जिम्मा लिएकै हुन्छन्। उनीहरुको जिवन नेताकै कारण चलेको हुन्छ।
यति मात्रै होईन, जतिसुकै अवान्छित कृयाकलाप गरेपनि स्वच्छ छविको देखिनु पर्ने बाध्यता पनि छ नेताहरुलाई । काम विग्रिएको र सुचना चुहिएको ठाउँमा नेताहरुको आलोचना हुन्छ। मिडियाले खेद्छन। विपक्षी दलले पनि लखेट्छन। विभिन्न चुटकिला वन्छन्, टिकटक र फेसवुकमा एकै छिनमा भाईरल वन्छ।
राजनीतिक विश्लेषकहरुका अनुसार यीनै दुइ धारमा नेताहरुको राजनीति अड्किएको हुन्छ। तथापी नेताहरुले आफुलाई जहिले पनि विकाश प्रेमी, जनसेवी, राष्ट्रसेवक र पर्दाखेरी जनताको लागि जेसुकै गर्न सक्ने नेताका रुपमा चिनाउन प्रयास गरिरहने उनीहरुको वुझाई छ।