News

अर्थमन्त्री नै पैसाको खोजिमा

अर्थमन्त्री नै पैसाको खोजिमा

बजारमा पैसा अभाव भएको विषयमा अर्थमन्त्री जनार्दन शर्माले चिन्ता ब्यक्त गरेका छन् । नगद लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सिर्जना भएको भन्दै उनले त्यस्तो पैसा आफूले खोज्न थालेको बताए । 

शुक्रबार नागरिक लगानी कोषको ३२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले भने–‘पुँजी कतै हराइरहेको छ । आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनि र ओछ्यानमुनि त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु। हाम्रो पुँजी निष्क्रिय भएर कतै बसिरहेको त छैन ? यतातिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’

क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फन्डलगायत नयाँ प्रविधिको दुरुपयोग गरी पूँजी पलायन भइरहेकाले रोक्न संयन्त्र विकास गरिसकेको पनि उनले जानकारी गराए ।

देशले अहिले भोगिरहेको शोधनान्तर घाटाको स्थिति अन्तर्राष्ट्रिय बजार मूल्यको असर भएको उनको भनाइ थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, डन्डी तथा डन्डीजन्य वस्तु, खानेतेल, प्लास्टिकलगायतको मूल्य बढेको छ । त्यस्तै, ढुवानी गर्ने पानीजहाज, कन्टेनरको भाडादर पनि वृद्धि भएको छ । अर्कातिर डलरको विनिमयदर पनि बढेको छ । यो सबैको चाप भुक्तानीमा पर्न गएर शोधनान्तर स्थिति सोचेभन्दा केही फरक पर्न गएको उनको भनाइ थियो ।

नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पूर्वाधार निर्माणमा परिचालन गर्नुपर्ने शर्माले बताए । अहिले देशलाई २० खर्ब लगानी आवश्यक रहेको बताउँदै उनले देशको स्तरोन्नतिका लागि कोषलगायत संस्थाहरूको रकम परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए । 
 

विशेष