News विदेश

चीनका विदेश मन्त्री शुक्रवार नेपाल आउँदै

चीनका विदेश मन्त्री शुक्रवार नेपाल आउँदै

उत्तरी छिमेकी चीनका विदेश मन्त्री तथा स्टेट काउन्सिलर वाङ यी आगामी शुक्रवार नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। उनको नेपाल आगमन लगभग निश्चित भईसकेको छ।

नेपालको संसदबाट गत फागुन १५ गते अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएपछि चीनको यो पहिलो उच्चस्तरीय भ्रमण हो। त्यसैले वाङ यीको भ्रमणलाई अन्तर्राष्ट्रिय रुपमा समेत चासोका रुपमा हेरिएको छ।

वाङ शुक्रबार भारतको राजधानी नयाँ दिल्ली हुँदै काठमाडौं ओर्लने जनाईएको छ। भारतभन्दा अघि उनी मंगलवार बेइजिङबाट पाकिस्तानको राजधानी इस्लामावाद पुग्नेछन्। मन्त्री वाङले पाकिस्तानमा इस्लामिक राष्ट्रहरुको संगठनका विदेशमन्त्रीहरुको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यहाँबाट भारत आउने वाङ दुई दिने औपचारिक भ्रमण सकेपछि दिल्लीबाट काठमाडौं आउने छन्।

शुक्रवार र शनिवार काठमाडौंमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्नेछन्।

नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्ने बेलामा चीनले सार्वजनिक रूपमै टिप्पणी गरेको थियो। एमसिसीमा अमेरिकाले धम्कीपूर्ण कूटनीति सुरू गरेको र यो सहयोग हो कि पान्डोराज बक्स भन्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले टिप्पणी गरेका थिए ।

एमसिसी पारित भएपछि पछिल्लो समय अमेरिकासँग व्यापार युद्ध गरिरहेको उत्तरी छिमेकी चीनसँग नेपालको सम्बन्ध कसरी अघि बढ्ला भन्ने चासो भइरहेका बेला चिनियाँ विदेश मन्त्री काठमाडौं आउन लागेका हुन्।

वाङ यसअघि २०७६ असोजमा भएको राष्ट्रपति सी चिनफिङको भ्रमणअघि नेपाल आएका थिए। 
 

चिनियाँ विदेशमन्त्री वाङ यी

विशेष