News

लिमीमा चल्दैन सरकारको नियमः निर्वाचन अघि नै चुनिए जनप्रतिनिधि

लिमीमा चल्दैन सरकारको नियमः निर्वाचन अघि नै चुनिए जनप्रतिनिधि

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि तयारी तिव्र रुपमा चलिरहेको छ। निर्वाचन कार्यालयले आफनो तयारी गरिरहेको छ भने राजनीतिक दलहरु उम्मेदवार छनौटदेखि स्थानीय तहमा कसरी आफ्ना उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने तयारीमा छन् ।

देशभरका ७५३ स्थानीय तहमा एकसाथ हुने यो निर्वाचनमा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका लागि आवश्यक ३५,२२१ पदका लागि मतदान हुने छ। तर, हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीमा भने उम्मेदवार मात्रै होईन, जनप्रतिनिधि छनौटको काम समेत सकिएको छ।

लिमी वासीले सरकारले तोकेको वैशाख ३० गतेको मिति अगाडि नै गाउँभेला गरी जनप्रतिनिधिको टुङ्गो लगाएका हुन । गाउँ भेलाबाट वडाध्यक्षमा पाल्जोर तामाङ दोहोरिएका छन। गत मंसिरमा लिमीमा खाद्यान्न अभाव हुँदा वडाध्यक्ष तामाङले काठमाडौं पुगी खाद्यान्न अभावको समस्या समाधान गरेका थिए । तामाङको काम सन्तोषजनक भएकाले फेरि उनैलाई वडाध्यक्ष तोकिएको स्थानीय डिचिन तामाङले बताइन ।

सदस्यहरूमा हल्जीबाट छिरिङटुङडुप तामाङ, जाङबाट पुटी तामाङ र तिलबाट टुङडुप लामा चयन भएका छन । उनीहरू सबै नयाँ अनुहार हुन । यसअघि वडाध्यक्षमा पाल्जोर तामाङ, महिला सदस्यमा याङकी तामाङ, कर्की लामा र कोलोप्जाङ तामाङ निर्वाचित भएका थिए ।

झन्डै १ सय ५० घरधुरी रहेको लिमीमा जाङ, हल्जी र तिल गरी ३ गाउँ छन । तीन वटै गाउँबाट एक÷एक वडा सदस्य चुनिएका छन्। यो वडामा जनप्रतिनिधका लागि निर्वाचन हुँदैन। ०७४ को स्थानीय तह निर्वाचनअघि पनि यसरी नै जनप्रतिनिधि चुनिएका थिए।

स्थानीयले अब गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गर्ने छन । हिमपातका कारण लिमीका स्थानीयवासीन्दाको मतदाता नामावली संकलन पनि भएको छैन। जिल्ला निर्वाचन कार्यालयले १७ मंसिरदेखि ९ पुससम्म नामावली संकलन गरेको थियो । त्यस वेला लिमीमा भारी हिमपात भएको थियो। त्यसैले मतदाता नामावली अद्यावधिक गर्न नसकिएको जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले वताए ।

लिमीका स्थानीय बासिन्दाको आफ्नै नीति–नियम छ। यो कुनै नौलो कुरा नभएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले वताईन। लिमीमा निर्वाचन मात्रै मात्रै होईन, खेतबारी जोत्न र अन्न भित्र्याउँन पनि गाउँ भेला वस्छ। नीजि काममा समेत अध्यक्षको निर्देशन मान्ने प्रचलन रहेको स्थानीयहरु वताउँछन् । 

विशेष