News राजनीति

यसरी असफल भयो कांग्रेसलाई धम्क्याउने प्रचण्डको ‘एमाले कार्ड’

यसरी असफल भयो कांग्रेसलाई धम्क्याउने प्रचण्डको ‘एमाले कार्ड’

स्थानीय सरकारको निर्वाचन आउनै लाग्दा सत्तारुढ गठबन्धनभित्र चुनावी तालमेलका विषयमा चर्चा भईरहेको छ।  तर, नेताहरुका पछिल्ला अभिब्यक्तिले भने वन्दै गरेको तालमेल पनि विग्रने अवस्था देखिन थालेको छ।

सरकारमा साझेदारी गरिरहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरूले आगामी तिनै तहको निर्वाचनमा गठबन्धन गर्नुपर्नेमा जोड दिँदै आएका छन्। निर्वाचनसम्म गठवन्धन जोगाउनकै लागि केही दिन अघि माओवादी र एकिकृत समाजवादी एमसीसी अनुमोदनका पक्षमा उभिएका थिए ।

एमसीसी प्रकरणमा कांग्रेसले जवरजस्ती गरे सरकार छोड्ने सम्मको चेतावनी दिएका दुवै पार्टी आसन्न निर्वाचन देखेरै अन्तिम समयमा एमसीसीको पक्षमा उभिन वाध्य भएका थिए । गठवन्धन टुटे चुनावमा नराम्ररी पराजित हुनु पर्ने दुवै पार्टीलाई डर छ। तर, नेपाली कांग्रेस भने स्थानीय आवश्यक्ताका आधारमा मात्रै तालमेल गर्नु पर्ने पक्षमा छ। त्यसमाथि नेता शेखर कोईराला पक्षका नेताहरु गठवन्धन गर्नै नहुने पक्षमा छन्।

यसरी गठवन्ध गर्ने/नगर्नेमै दुविधा रहेका वेला नेताहरुका अभिब्यक्ति भने वन्दै गरेको माहौल पनि भाड्ने खालका छन् । यसैक्रममा सत्तारूढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङको अभिब्यक्तिलाई लिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चित्त दुखाएका छन्। सभापति शेरवहादुर देउवाले गठवन्धका विषयमा जथाभावी नवोल्न दिएको निर्देशन विपरित गुरुङले ‘माओवादी र समाजवादी हात्तीको कानमा बस्न आएका चमेरा’ भनेपछि अध्यक्ष दाहाल दुखेका हुन।

उपसभापति गुरूङका अभिव्यक्ति सुन्नै नसकिने खालको भनेर उनले पोखरामा टिप्पणी गरे। उपसभापति गुरूङले केही समयअघि विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चमेराको प्रसंग ल्याएका थिए।

गुरुङले भनेका थिए–‘कांग्रेस भनेको हात्ती हो, कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ। हात्तीको कानभित्र ओत लाग्न पाऊँ भन्दै केही चमेराहरू निवेदन दिइरहेका छन्, हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिनुपर्छ, दिन्छ भन्ने कुनै सपना नदेखे हुन्छ।’

उसो त, वोल्ने कुरामा स्वयम प्रचण्ड पनि कमजोर छैनन्। उनले चुनावमा तालमेल गर्न माओवादी नजाने, बरु अरु पार्टी माओवादीकहाँ आउनुपर्ने भन्दै डंका पिटेका छन् । ‘देशैभरी एकचोटी फेरि हेर्नुपर्ने र दिनुपर्ने माओवादीलाई नै रहेछ भन्ने जनमत बन्दै गएको छ । हेर्नुहोला, एक महिनाभित्र अरु सबै पार्टीहरु माओवादीसँग तालमेल गर्न आउनुपर्छ, हामी जाने होइन । किनभने यो देशको परिवर्तनको बाहक हामी हौं’– उनले भने।

उनले देशभरिको स्थिति हेर्दा माओवादी पहिलो पार्टी बन्ने सम्भावना बढेको जिकिर पनि गरे। उनले ‘अबको चुनावमा हामी बैशाखी कसैको टेकेर होइन, आफ्नै बलमा चुनाव लड्ने तयारी गर्दैछौं’ भने। उनले ३ चैतमा बुटवलमा आयोजित कार्यक्रममा कांग्रेसले लखेट्यो भने एमालेसँग गठबन्धन नहोला भन्न सकिने अभिब्यक्ति दिएका थिए । 

कांग्रेसका नेताहरुलाई अतिवादी भन्दै उनले माओवादीलाई लेखेट्न खोजे परिस्थिती जे पनि हुन सक्ने भन्दै धम्क्याएका थिए। ‘कांग्रेसका केही नेताले माओवादीसँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेका छन्’ उनले भनेका थिए–‘तर, प्रधानमन्त्री देउवाले अब उहाँहरुलाई बोल्न बन्द गर भन्नुभएको छ । यदि कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न।

तर, एमालेका नेताहरुले प्रचण्डले ‘एमाले कार्ड’ प्रयोग गर्न थालेको वुझेपछि ‘त्यो सपना नदेख्न’ सार्वजनिक रुपमै सचेत गराउन थालेका छन्। एमाले नेताहरुको यस्तो अभिब्यक्तिपछि प्रचण्ड हच्किएका छन् । उनी अहिले गठवन्धनको विकल्प नसोचेको र धनराज गुरुङले चमेरो भनेपछि त्यसै गर्छन् भने विकल्प खोज्न बाध्य हुनेपर्ने वताएको भन्दै स्पष्टिकरण दिन थालेका छन् । 

विशेष