News राजनीति

घनश्याम भुषाललाई ओलीको जवाफः 'वाम' नै छैन, के को एकता ?

घनश्याम भुषाललाई ओलीको जवाफः 'वाम' नै छैन, के को एकता ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा ‘वाम’ नै नभएकाले एकताको कुरै नहुने वताएका छन् । पोलिटब्यूरो बैठकमा घनश्याम भूसाल र रघुजी पन्तले चुनावमा गठबन्धन र वाम एकताको बाटो खुला राखेर जानुपर्ने प्रस्ताव राखेपछि उनले यस्तो वताएका हुन ।

अध्यक्ष ओलीले बैठकको समापन गर्दै भने ‘कसैसँग एकता हुँदैन । देशमा वाम नै छैन, के को एकता ? वाम भन्ने चिज नै छैन ।’ उनले चुनावी एकता भने हुने बताए । ‘अहिले वामपन्थी एकता हुँदैन । चुनावी एकता हुन्छ’, उनको भनाइ थियो ।

भूसाल र पन्तले बैठकमा नयाँ प्रस्ताव ल्याएका थिए । पन्तले कम्तिमा एमाले वाम एकताको पक्षमा रहेको सन्देश दिएर अगाडि बढ्नुपर्ने प्रस्ताव राखेका थिए भने भूसालले भने चुनावमा एकता र वाम एकताको तीन कारण रहेको वताएका थिए ।

‘एमाले वाम एकताको मूल प्रवाह हो, नेकपा विभाजन हुनुको वैचारिक तथा सैद्धान्तिक कारण छैन र निर्वाचनमा वामापन्थी विजय सुनिश्चित गर्न पनि गठबन्धन र वाम एकता आवश्यक छ’, भूसालको प्रस्ताव थियो ।

उनीहरुको कुरापछि अध्यक्ष ओली निकट नेता हिक्मत कार्कीले अहिले वाम एकताको कुरातिर लाग्न नहुने तर्क गरे। चुनावको वेलामा एकताको कुरा गर्नु भनेको कमजोर छौं भन्ने सन्देश दिनु सरह हुने उनको भनाई थियो । कार्कीलाई महेश बस्नेत, कर्ण थापालगायतले साथ दिए। 

बैठकले केन्द्रीय कमिटी बैठकको प्रस्ताव अनुमोदन गरेको छ । ९–१० चैतमा बस्ने केन्द्रीय कमिटी बैठकमा एघार प्रस्ताव पोलिटब्यूरोबाट पारित भएको छ ।

केपी शर्मा ओली

विशेष