News

धनगढीमा निर्मित प्रहरी विद्यालयको बहुउद्देश्यीय हलसहितका भवन उद्घाटन

धनगढीमा निर्मित प्रहरी विद्यालयको बहुउद्देश्यीय हलसहितका भवन उद्घाटन

धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको बुधवार उद्घाटन गरिएको छ । नेपाल स्थित भारतीय दूतावासका सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।

भारत सरकारको सहयोगमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ४ करोड २२ लाख ६० हजारको लागतमा उक्त नयाँ भवनहरुको निर्माण सम्पन्न गरिएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो । 

सन् २००३ यता भारतले नेपालमा ५ सय २३ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ ।त्यस्तै, ४ सय ६७ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

तीमध्ये कैलालीका ८ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा परियोजना छन् । यसका साथै, भारतले कैलालीका लागि ८ वटा एम्बुलेन्स र ७ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।

सो उद्घाटन समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरकारका अधिकारीहरुको उपस्थिति थियो ।


 

विशेष