News विदेश

पेट्रोलको लाईनमै दुई जनाको मृत्यु, यसरी डुब्यो श्रीलंका

पेट्रोलको लाईनमै दुई जनाको मृत्यु, यसरी डुब्यो श्रीलंका

श्रीलंकामा पेट्रोल/ग्यासको लाइनमा उभिएका दुई जनाको मृत्यु भएको छ। चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाको राजधानी कोलोम्बोमा आईतवार पेट्रोल किन्न लाइनमा उभिएका ७० वर्षीय वृद्धको मृत्यु भएको हो। 

लाइनमा उभिँदाउभिँदै बेहोस भएर लडेका उनको त्यहीँ प्राण गएको थियो। शनिबार क्यान्डी सहरका मट्टीतेल किन्न लाइनमा उभिएका अर्का ७१ वर्षीय वृद्धको पनि मृत्यु भएको थियो। पाँच घन्टा लाइनमा उभिएका उनी बेहोस भएर लडेपछि अस्पताल लगिएको थियो तर उनलाई डाक्टरले मृत घोषणा गरेका थिए। 

चर्को गर्मीमा घन्टौंसम्म लाइनमा बस्नुपर्दा श्रीलंकनले ज्यादै सास्ती भोग्नु परेको छ। श्रीलंकामा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ। 

कागज अभावले परीक्षा स्थगित
श्रीलंका गम्भीर आर्थिक संकटमा परेको छ । आर्थिक संकटकै कारण कागज खरिद गर्न नसकेपछि विद्यालयको परीक्षासमेत रद्ध गर्नु परेको छ। विद्यालयको टर्म टेस्ट परीक्षा कागज अभावका कारण अनिश्चितकालका लागि रद्ध गरिएको श्रीलंकाका अधिकारीहरुलाई उद्धृत गर्दै द गार्जिएनले समाचार लेखेको छ । परीक्षा रोकिँदा ४५ लाख विद्यार्थीले यस वर्षको परीक्षा दिन नसक्ने सम्भावना बढेको छ।

सन् १९४८ मा स्वतन्त्र भएपछिकै सबैभन्दा खराब वित्तीय संकटबाट श्रीलंका गुज्रिरहेको छ । वस्तु आयात गर्न डलरको अभाव छ । विदेशी मुद्रा अभावका कारण श्रीलंकाको ऊर्जा क्षेत्रसमेत गम्भीर रुपमा प्रभावित भएको छ । श्रीलंकावासीले लामो समयसम्म लोडसेडिङ व्यहोर्दै आएका छन् । औषधि, दूध, चिनी, दाल, चामल, तेल र अन्य खाद्य वस्तु खरिदका लागि पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ । 

यसरी आर्थिक संकटमा फस्यो श्रीलंका
टापु राष्ट्र श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि आएको सबैभन्दा ठूलो आर्थिक संकटमा छ। २ करोड २० लाख श्रीलंकनको जीवनमा ठूलो असर  पारेको छ। राजधानी कोलोम्बोसहित विभिन्न सहरमा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारविरूद्ध प्रदर्शनहरू भइरहेका छन्। 

श्रीलंकाको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एउटा पर्यटन हो। सन् २०१५–१६ पछि आतंकवादका कारण श्रीलंकामा पर्यटनको आवागमन घट्न थाल्यो। तीन वर्षअघि इस्टर सन्डेका दिन कोलोम्बोका चर्च र पाँचतारे होटलमा भएको आतंकवादी हमलापछि त पर्यटक आउने क्रम रोकिएजस्तै भयो।

सन् २०१९ को अन्तबाट कोरोनाभाइरसको महामारी फैलियो। कोरोनासँगै विश्वभरका अर्थतन्त्रमा धक्का लाग्यो। कोरोनाको संक्रमण रोक्न महिनौंसम्म प्रतिबन्धहरू लगाइए। श्रीलंकामा पर्यटनको मुहान नै सुक्यो।

श्रीलंका अहिलेको अवस्थामा पुग्नुमा आतंकवादी हमला र कोरोनाको असर वाहेक श्रीलंकाले चीनलगायत मुलुकबाट लिएको ऋण पनि प्रमुख हो। श्रीलंकाले ऋण लिएर ठूला–ठूला परियोजना बनाएको थियो। ती परियोजना बनाउन लिएको ऋणको किस्ता वर्षेनी तिरिरहनुपर्छ।

पर्यटक नआएपछि विदेशी मुद्रा आर्जन कम भएर ऋण तिर्न गाह्रो हुन थालेपछि सन् २०१७ मा सरकारले हम्बोनाटोटा बन्दरगाह चीनलाई ९९ वर्षका लागि भाडामा दिएको थियो। आर्थिक संकटबाट बाहिर निस्कन तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारले त्यही वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग पैसा माग्यो।

आइएमएफले सरकारी खर्च कटौती, कर वृद्धिलगायत सर्तहरू राखेर श्रीलंकालाई पैसा दिएको थियो। सन् २०१९ को राष्ट्रपतीय चुनाव गोटवाया राजापाक्षेले जिते। उनले अर्थतन्त्र चलायमान बनाउन आइएमएफले ऋणसँग लागू गर्नुपर्ने भनेका सर्तहरूको पालना गरेनन्। कर र ब्याजदर दुबै घटाए।

श्रीलंकाले त्यो बीचमा अरू अन्तर्राष्ट्रिय ऋण पनि लियो। अहिले श्रीलंकाको अन्तर्राष्ट्रिय ऋणमध्ये करिब ३६ प्रतिशत सोभेरेन बोन्डको ऋण छ। यो ऋण कुनै सरकार वा बहुराष्ट्रिय संस्थासँग नभई निजी कम्पनीहरूसँग हो। अर्थतन्त्र कमजोर भएर क्रेडिट रेटिङ खस्कन थाल्दा त्यस्तो ऋण झन् महंगो पर्छ।

श्रीलंकाको बाँकी ऋणमध्ये जापान र चीनको झन्डै ११÷११ प्रतिशत छ। सामान्यतः कुनै पनि देशलाई चीनले दिने ऋणको व्याज जापानको भन्दा महंगो हुन्छ। पछिल्लो समय गत जनवरीमा तिर्नुपर्ने ऋणको समय बढाइदिन र चिनियाँ पर्यटकलाई श्रीलंका आउन खुला गरिदिन राजापाक्षे सरकारले आग्रह गरेको छ। बेइजिङले भने अहिलेसम्म यसको जवाफ पठाएको छैन।

विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न सरकारले गाडी र मलको आयात बन्द ग¥यो। मल नआएपछि प्रमुख निर्यात बाली चियालगायत अरू उत्पादनमा समस्या प¥यो। डलरमा आधारित विदेशी ऋणको किस्ता भने तिरिरह्यो। विदेशी सञ्चितिमा पैसा जम्मा हुने स्रोत सुक्दै जाँदा तिर्नु पर्ने ऋणले सञ्चिति घट्दै गयो।

यसवर्ष श्रीलंकामा कम वर्षा भएका कारण जलविद्युतको उत्पादन झन् घट्यो। उर्जाको माग पूरा गर्न कोइला र डिजेल किन्नुपर्ने भएको छ। त्यसले गर्दा विदेशी मुद्राको सञ्चिति घट्दै–घट्दै गयो। अहिले श्रीलंकामा दैनिक ७ घन्टासम्म लोडसेडिङ हुन्छ। सबैखाले उद्योग प्रभावित छन्।

रूस– युक्रेन युद्धले पनि पेट्रोलियम पदार्थको भाउ आकाशिएको छ। यति हुँदा पनि श्रीलंकाले आफ्नो मुद्राको अवमूल्यन नगरेर १ डलर बराबर २०० रुपैयाँमा राखिरहेको थियो। लामो समय श्रीलंकाको मुद्रालाई पहिलाकै अवस्थामा राखिरहन झन् सञ्चिति घट्यो। भर्खरै श्रीलंकाले आफ्नो मुद्रालाई डलरको तुलनामा १५ प्रतिशत अबमूल्यन ग¥यो। मुद्रा अवमूल्यन भएपछि आयात झन् महंगो बन्दै गयो। १५ प्रतिशतले  अवमूल्यन हुँदा पनि समस्या नसुल्झिएपछि ‘फ्लोट’ गरायो। आइतबार १ अमेरिकी डलर किन्न २७७ श्रीलंकाली रुपैयाँ तिर्नुपर्छ।

अहिले श्रीलंकाको कोषमा विदेशी मुद्रा १ अर्ब अमेरिकी डलरभन्दा कम छ भने यो वर्षमात्रै डलरमा तिर्नुपर्ने विदेशी ऋणको किस्ता साढे चार अर्ब बढी छ। पहिलाको ऋण तिर्न फेरि ऋण लिन झन् धेरै महंगो पर्छ। 

विशेष