News समाज

दोश्रो विवाह गर्दा पुर्वपतिको सम्पत्ति फिर्ता गर्नु पर्ने ब्यवस्थामा किन विरोध ?

दोश्रो विवाह गर्दा पुर्वपतिको सम्पत्ति फिर्ता गर्नु पर्ने ब्यवस्थामा किन विरोध ?

नेपाली समाजमा विवाह सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट नारी र पुरुष एक अर्कासँगै जीवन ब्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवार बिच नयाँ नाता सम्बन्ध जोड्छ। विवाह समाजको सबैभन्दा सशक्त परम्पराका रूपमा स्थापित छ । 

समाजशास्त्री तथा मानवशास्त्रीहरू मानिसलाई सामाजिक प्राणी मान्छन् । मानिसलाई सामाजिक प्राणी मान्नुका पछाडि उसको समाजसँगको सम्बन्ध र समाज निर्माणमा उसको भूमिका नै हो । समाज बन्नका लागि परिवार र परिवारका लागि पति, पत्नी र सन्तान चाहिन्छ। त्यसैले समाज निर्माणको आधारस्तम्भ पनि हो, विवाह ।

तर, अहिले समाजमा विवाहको सामान्य अर्थ वयस्क दुई विपरीत लिङ्गीहरू बीचको सम्बन्धको सार्वजनिकीकरण हो । विवाह गर्ने धार्मिक, सांस्कृतिक, सामाजिक मान्यताहरू जातजाति, भूगोलअनुुसार भिन्न–भिन्न छन्। तर उद्देश्य चाही एउटै हो, दम्पतिलाई पतिपत्नीका रुपमा समाजमा चिनाउनु। परम्परादेखि चल्दै आाएको यो मान्यता अहिले पनि उत्तिकै बलियो छ । तर, विस्तारै यो मान्यतामा परिवर्तन आइरहेको छ ।

वैवाहिक सम्बन्धको दायरा हिजोको समाजमा जस्तो परम्परावादी थियो, त्यसमा आमूल परिवर्तन आएका छन् । हिजोका परम्पराबीच आधुनिक हुने दौड चलेको छ। सिङ्गल मदरको अवधारणाले मान्यता पाउन थालेको छ। नयाँ पुस्ताले विवाहलाई नितान्त निजी मामलाका रुपमा ग्रहण गर्न थालेको छ। नेपाली समाज अधिकारको अभ्यास गर्दैछ, यसले वैवाहिक सम्बन्धहरू भत्कने क्रममा छन्। 

विवाहपछि स–साना कुराले पनि श्रीमान–श्रीमतीबीचको सम्बन्धमा खटपट आउने र पारिवारिक बिग्रह निम्तिने क्रम बढ्न थालेको छ । कुनै बेला जटिल मानिने सम्बन्ध बिच्छेदलाई पछिल्ला वर्षहरुमा सामान्यरुपमा लिन थालिएको छ । दुई जनाको सामान्य असमझदारीलाई पनि सम्बन्ध बिच्छेदमा पुर्याएर टुंग्याउने प्रवृत्ति समाजमा बढ्दो छ ।

यति मात्रै होईन, विवाहलाई सम्पत्ति आर्जनको माद्यम वनाउनेको संख्या पनि वढिरहेको घट्नाक्रमले देखाएको छ। विवाहको आवरणमा आपराधिक क्रियाकलपहरु समेत हुने गरेका छन् । खासगरी सम्पत्तिका लागि विवाह गर्ने र प्राप्त भएपछि सम्बन्ध तोड्ने गरिएका थुप्रै घटना सुनिने गरेको छ। श्रीमानको सम्पत्तिमा श्रीमतीको आधा हक लाग्ने कानुनी व्यवस्थाका कारण विवाहका नाममा हुने ठगीले वैधानिकता पाइरहेको उदाहरण प्रसस्तै छन्। 

बैदेशिक रोजगारीमा रहेका श्रीमानका श्रीमतीहरुले भएभरको सम्पत्ति लिएर अर्कैसँग हिँड्दा पुरुषले न्याय नपाएको र छोराछोरीको विचल्ली भएका घट्ना हरेक समाजमा देखिएका छन्। यस्ता घटनाले एकजना पुरुष मात्रै होईन, दुई परिवार पनि तहसनहस बनाउँछ। परिवार र समाजमा विग्रह निम्त्याउने यस्ता घट्नालाई सरकारले नियमन गर्ने प्रयास गरेको छ। कानुन संशोधनको प्रक्रिया सुरु भएको छ।

मुलुकी देवानी संहिता २०७४ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा ‘पतिसँग छुट्टिएकी महिलाले फेरि विवाह गरे सम्पत्ति फिर्ता गर्नुपर्ने’ प्रावधान राख्न लागिएको हो । नेपाल कानुन आयोगले संहिताको विधेयक मस्यौदामा यस्तो प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई कानुन मन्त्रालयले छलफलका लागि संसदीय समितिमा पठाउने छ । संसदीय समितिले संसद्को पूर्ण बैठकमा पेश गरेर अनुमोदन भएपछि संशोधन हुने छ ।

महिलामा अंश लिने र पारपाचुके गरेर नयाँ पुरुषसँग सम्बन्ध गाँस्ने प्रवृत्ति बढ्दै गएपछि सामाजिक मूल्य र मान्यतालाई ध्यानमा राखेर उक्त नयाँ व्यवस्था गर्न लागिएको बताइएको छ । प्रस्तावमा सम्बन्धविच्छेद गरेकी महिलाले दोस्रो विवाह गरे पहिलो पतिबाट पाएको चल अचल सम्पत्ति फिर्ता गर्नु पर्ने ब्यवस्थाछ। पूर्वपतिबाट पाएको सम्पत्ति खर्च गरिसकेको अवस्थामा फिर्ता गर्नु नपर्ने तर, त्यस्तो सम्पत्ति बेचेको भए पनि फिर्ता गर्नुपर्ने ब्यवस्था छ।

सम्बन्धविच्छेदपछि बिहे गर्न चाहेमा महिलाले अंशवापतको चल अचल सम्पति छोराछोरी भएको अवस्थामा छोराछोरीलाई, नभए पूर्वपति वा पूर्वपतिका अंशियारलाई फिर्ता दिनुपर्ने व्यवस्थासहित प्रस्ताव अघि वढेपछि कतिपय महिला अधिकारकर्मीले भने आपत्ति जनाएका छन् ।

यो व्यवस्था संविधान विपरित रहेको उनीहरुको दाबी छ । यो ब्यवस्था संविधानको धारा १६, धारा १८, धारा २५, धारा ३८ तथा मौजुदा राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय कानूनसमेतको बर्खिलाप भएको दाबी गरिएको छ।

पारपाचुके सम्बन्धविच्छेद

विशेष