News

प्रहरीको ज्यानै जाने गरी लेटाङमा भएको झडपको नालिवेली

प्रहरीको ज्यानै जाने गरी लेटाङमा भएको झडपको नालिवेली

उत्तरी मोरङमा पछिल्लो समय एकपछि अर्को बलात्कार र यौन दुर्ब्यवहारका घटना वढेका छन्। केही दिनअघि मात्रै सुन्दर हरैंचामा डेढ वर्षिया बालिकाको बलात्कारका कारण ज्यान गयो। यो प्रकरणपछि मोरङबासी प्रहरीसँग रूष्ट छन्। 

यसैविचमा चैत ४ अर्थात तराईको होलीका दिन कक्षा ६ मा अध्ययनरत एक छात्रालाई लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले यौन दुर्ब्यवहार गरेको घट्ना वाहिरियो।

जानकारी अनुसार ४ गते ती शिक्षक छात्राको घरमा पुगेका थिए। घरमा पुग्ने बित्तिकै उनले विद्यार्थीसँग पानी मागेका थिए। पानी ल्याएर दिने क्रममा ती शिक्षकले आफूमाथि दुब्र्ययवहार गरेको छात्राले बताएकी छन्।

गएको तिहारदेखि पटक–पटक घरमै आएर शिक्षकले आफुसँग पानी माग्ने र दुर्ब्यवहार गर्ने गरेको वालिकाले वताएकी छिन्। त्यसपछि स्थानीयवासी आन्दोलित भए। उनीहरुले पीडक भनिएका शिक्षकको मोटरसाईल पनि जलाए । उनीहरुले प्रहरीले पीडकलाई पक्राउ गरेर छानबिन गरोस् भन्ने चाहेका थिए।

प्रहरी टोलीले आरोपित शिक्षकलाई पक्राउ पनि गर्यो। तर, गाउँलेहरुले उनलाई संरक्षण गर्न लागेको वुझे। यसले उनीहरु थप आक्रोशित भए। प्रहरीले अवस्थालाई सामान्य वनाउने प्रयास गर्यो। तर, आन्दोलनकारीले शिक्षक कर्मचारीलाई कोठामा थुनेर आगो लगाउन खोजेपछि अवस्था विग्रियो। त्यस क्रममा स्थानीयको प्रहरीसँग पनि झडप भयो। झडपकै क्रममा एक प्रहरी जवानको मृत्यु भएपछि अहिले लेटाङ क्षेत्र तनावग्रस्त छ। 

अवस्था असामान्य वनेपछि आईतवार मोरङ प्रहरीले १ नं प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट ५० जनाको थप मद्दत झिकाएको थियो। ५० जनाको टोलीमा सहभागि रहेकी प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा छुरा लाग्यो । उनलाई कोसी प्रादेशिक अस्पताल लाने क्रममा वाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा मोरङका एसपी जनार्दन जिसीसहित २५ प्रहरी र ७ जना जना स्थानीय घाइते भएका छन्  ।

प्रहरीले सोमबार बिहानदेखि लेटाङ क्षेत्रमा सर्च अपरेसन तीब्र पारेको छ। लेटाङ–५, खेरूवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाएको छ।

आइतबारको घटनामा संलग्न रहेको भन्दै प्रहरीले सोमबार बिहान खेरूवाबाट ५ जनालाई नियन्त्रणमा लिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

को हुन उर्मिला ?
मृतक उर्मिला २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरकी हुन्। १ नम्बर  प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा दरबन्दी भएकी उनी टोलीसहित आइतबार दिउँसो लेटाङतर्फ गएकी हुन ।

बुवा कुमार र आमा सीतामायाकी एक्ली छोरी हुन उर्मिला । उनी २०५२ कातिक १४ गते खोटाङ बरहापोखरीमा जन्मेकी थिइन्। उदयपुरको त्रियुगा जनता क्याम्पसबाट बिबिएस गरेपछि उनी प्रहरी सेवामा प्रवेश गरेकी हुन्।

उनका श्रीमान कुमार श्रेष्ठ पनि प्रहरी सेवामै इलाममा कार्यरत छन्। गत वैशाख १९ गते उनीहरुको विवाह भएको थियो। 
 

लेटाङ

विशेष