News

रौटहटमा एमालेको प्रदर्शनः सिडिओ र एसपीलाई वरखास्त गर्न माग

रौटहटमा एमालेको प्रदर्शनः सिडिओ र एसपीलाई वरखास्त गर्न माग

सत्ता गठवन्धनको इसारामा सुनियोजित रुपमा आफना कायकर्ता फसाएको भन्दै नेकपा एमाले रौतहटले मंगलबार सिडिओ कृष्णबहादुर शाही र एसपी विनोद घिमिरे विरुद्ध प्रदर्शन गरेको छ। स्थानीय प्रशासनले विभिन्न षड्यन्त्र गरी निर्दोषलाई फसाउने काम गरेको भन्दै प्रदर्शन गरिएको हो।

एसपी र सीडीओले आफना कार्यकर्तालाई झूठा मुद्दा, गाली बेइज्जती तथा बदनाम गर्ने कार्य गरिरहेको भन्दै गरुडामा प्रदर्शन गरिएको हो । एमाले जिल्ला अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा आयोजित प्रदर्शनमा सीडीओ र एसपीको राजीनामा मागिएको थियो। 

एमाले पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शनमा ‘निर्दोषलाई फसाउन पाइँदैन, पक्षपाती सरकार÷प्रशासन चाहिँदैन, पक्षपाती सीडीओलाई बर्खास्त गर, निष्पक्ष निर्वाचनको वातावरण तयार गर, षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दावाद, षड्यन्त्रकारी सीडीओलाई कारबाही गर, हर्षाहा सवारी दुर्घटनाको उच्चस्तरीय छानबिन गर, मुद्दाको वास्तविकता लुकाउनेहरूलाई कारबाही गर, लासमाथि राजनीतिक गर्ने घृणित कार्य बन्द गर’ जस्ता नारा लगाइएको थियो । 
नाराजुलुस सहित गरुडाको परिक्रमा गरेका प्रदर्शनकारीले ईलाका प्रहरी कार्यालय गरुडा अगाडी कोणसभा गरे। कोणसभालाई सम्बोधन एमाले रौतहटका अध्यक्ष त्रिभुवन साहले दोषी उम्काएर निर्दोषलाई फसाउने कार्य तत्काल रोक्न चेतावनी दिए ।

गठबन्धन सरकारको इशारामा जालझेल र षडयन्त्र गर्ने कार्य बन्द नगरे जिल्ला भर प्रतिकार गर्ने र अनिश्चितकालको लागि बन्द हडताल गर्ने उनको चेतावनी छ। 

एक साता अघि नागेन्द्र साहको नाममा रहेको बा. १७ च ६१६३ नम्बरको स्कार्पियो पिकअप गौर–चपुर सडक खण्डको हर्षाहामा दुर्घटना हुँदा दुईजनाको मृत्यु र दुई जना घाइते भएका थिए। घटनास्थलमा समातिएका चालकलाई रिहा गरी प्रहरीले गाडीमा हुँदै नभएको व्यक्तिको नाममा मुद्दा दर्ता गरेको भन्दै एमाले आन्दोलित भएको हो ।

सिसिटीभी फुटेज र भिडिओ क्लिपहरू प्रमाणको रुपमा हुँदा समेत सरकारी षड्यन्त्र अनुरुप त्यसमा देखिएको व्यक्तिलाई छाडेर निर्दोषलाई फसाउन खोजिएकाले सीडीओ र एसपीलाई बर्खास्त माग गरिएको एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज उपेन्द्र साहले बताए ।

स्थानीय प्रशासन राजनीतिक स्वार्थमा लागेको केन्द्रीय सदस्य एवम् जिल्ला सह इन्चार्ज उद्धव रेग्मीले वताए । 

विशेष