News अपराध सुरक्षा

लागु औषध दुर्ब्यसनी प्रयोग गरेर यसरी भयो लेटाङमा प्रहरीको हत्या

लागु औषध दुर्ब्यसनी प्रयोग गरेर यसरी भयो लेटाङमा प्रहरीको हत्या

मोरङको लेटाङमा एक प्रहरीको ज्यान जाने गरी भएको घट्नामा निजी विद्यालयहरुको पनि संलग्नताको आशंका गरिएको छ। उक्त घट्ना कसैको उक्साहटमा भएको र त्यसका लागि लागूऔषध दुर्ब्यसनीलाई प्रयोग गरिएको प्रहरीको आशंका छ ।

लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालय अंग्रेजी माध्यमबाट पढाई हुने विद्यालय हो। सो विद्यालय लेटाङ नगर भरिकै उत्कृष्ट विद्यालय भएको स्थानीयहरु वताउँछन्। उक्त विद्यालयका कारण आसपासका निजी विद्यालयले विद्यार्थी अभाव खेप्दै आएका छन् र अपेक्षाकृत फस्टाउँन सकेका छैन्।

त्यसैले विद्यालयलाई वदनाम गराउने कुत्सित मनसायले यो घट्ना घटाईएको हुन सक्ने कतिपय प्रहरी अधिकारीकै आशंका छ। यस वाहेक राजनीतिक प्रतिशोधका कारण पनि घटनाले उग्ररुप लिएको हुन सक्ने उनीहरुको आशंका छ । वडाध्यक्षहरुबीच द्वन्द्व यो घटनामा प्रदर्शन भएको स्रोतको दावी छ।

घटनास्थलमा अत्यधिक मात्रामा बोतलका सिसा फेला पर्नु र महिला प्रहरी उर्मिला श्रेष्ठको घाँटीमा चक्कु प्रहार गरेर हत्या गर्नुले पनि घट्नालाई शंकास्पद रुपमा हेर्नु परेको प्रहरीको भनाई छ।

उक्त घट्ना अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा एक डिएसपी, एक इन्सपेक्टरसहितको पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई १० दिनको म्याद दिइएको छ भने कार्यसम्पादन पुरा हुन नसके म्याद थप हुने प्रदेश प्रहरी प्रमुख डिआईजी अरुणकुमार विसीले बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङले पनि घट्नाको छुट्टै अनुसन्धान गरिरहेको छ । लेटाङ ५ खेरुवास्थित शिक्षा विकास माध्यामिक विद्यालयका यौन दुर्ब्यवहार आरोपी शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि भीडले आइतबार आक्रमण गरेको थियो। पौडेलले कक्षा ६ मा अध्ययनरत १२ वर्षीय बालिकामाथि यौन दुर्ब्यवहार गरेको आरोप छ ।


उक्त घट्नामा महिला प्रहरी जवान श्रेष्ठलाई छुरा प्रहार गरिएको थियो। उपचार गर्न नपाउँदै उनको मृत्यु भएको थियो । आक्रमणमा २५ प्रहरी र सातजना सर्वसाधारण घाइते भएका थिए । त्यसपछि भड्किएको हिंसा नियन्त्रण गर्न मोरङ प्रशासनले सोमबारदेखि उक्त  क्षेत्रमा कर्फ्यु जारी गरेको छ। कर्फ्यु अझै पनि पुर्ण रुपमा खुलेको छैन।

घटनामा संलग्न भएको आशंकामा मोरङ प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

यो पनि

लेटाङ

विशेष