News राजनीति

रविन्द्र मिश्रले राप्रपासँग पार्टी एकता गर्दै, पार्टीको नाम र चुनाव चिन्हमा कुरा मिलेन

रविन्द्र मिश्रले राप्रपासँग पार्टी एकता गर्दै, पार्टीको नाम र चुनाव चिन्हमा कुरा मिलेन

नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माण भन्दै हिडेका रवीन्द्र मिश्रको विवेकशील साझा पार्टी र राजतन्त्रको पुनस्र्थापनासहित हिन्दु राष्ट्रको मुद्धा बोकेको राप्रपा बीच पार्टी एकताको अन्तिम तयारी भईरहेको छ।

मिश्रले ‘विचारभन्दा माथि देश’ भन्ने नाराअघि सारेर अघि वढेका छन् भने राप्रपा ०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिहरुलाई नै संशोधन गर्नु पर्ने एजेन्डा बोकेर हिंडेको छ। हालको व्यवस्थाभन्दा फरक ढंगले अघि बढ्ने आफ्नो एजेन्डा अनुमोदन गराएपछि मिश्र अब राप्रपासँगको एकतातर्फ मोडिएका हुन् । 

विवेकशील साझा पार्टी र राप्रपाको एकता प्राविधिकरूपमा मात्रै बाँकी रहेको ती दल निकट नेताहरुले बताएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणा तथा विवेकशील साझाका अध्यक्ष मिश्रलगायतका नेता अहिले नियमित छलफलमा छन् ।

सिद्धान्त र आगामी कार्यदिशामा विवाद नरहे पनि पार्टीको नाम र चुनाव चिह्न के हुने भन्ने प्राविधिक विषयले मात्रै एकता घोषणा बाँकी रहेको दुवै पक्षका नेताहरूले बताएका छन् । राप्रपाले नाम राप्रपा नै र चुनाव चिह्न हलो नै हुनुपर्ने अडान राखिरहेको छ । विवेकशील साझाले साझा पार्टीको पनि पहिचान झल्किने गरी नयाँ नाम राख्नुपर्ने र चुनाव चिह्न तराजु हुनुपर्ने प्रस्ताव गरेको छ ।

चुनाव चिह्न र पार्टीको नाममा राप्रपा लचिलो भएमा नयाँ पार्टी निर्माणका लागि काम अगाडि बढ्ने नेताहरुले वताएका छन। राप्रपाले राजतन्त्र पुनर्स्थापना र हिन्दुराष्ट्रको एजेन्डा अगाडि सारेको छ भने विवेकशील साझा पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कल्याणकारी लोकतन्त्र, संसद्बाट निर्वाचित गैरदलीय ख्यातीप्राप्त व्यक्ति राष्ट्रपति भन्ने कुरा अगाडि सारेको छ ।

विवेकशील साझालाई वर्तमान राजनीतिक व्यवस्थामा नै राखेर नयाँ लोकप्रिय शक्तिका रूपमा अगाडि सार्नुपर्ने माग राख्ने नेताहरूलाई अध्यक्ष मिश्रले यसअघि नै पार्टीबाट निष्कासन गरिसकेका छन् । मिश्रले गत पुस पहिलो साता नै संयोजक मिलन पाण्डेलाई निष्कासन गरेका थिए । 

विशेष