News

एमसिसिले माओवादीभित्र रडाको

एमसिसिले माओवादीभित्र रडाको

अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसदबाट अनुमोदन भएपछि सत्तारुढ नेकपा माओवादी केन्द्रमा देखिएको मतभेद चर्किएको छ । नेकपा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठलगायतले एमसिसीलाई व्याख्यात्मक घोषणासहित पारित गर्न नहुने अडान राख्दै आएका थिए । 

संसदबाट एमसिसी अनुमोदित हुने दिनलाई श्रेष्ठले त कालो दिनको संज्ञा नै दिएका छन् । एमसिसी अनुमोदित भएपछि यसबारे स्पष्टिकरण दिन पत्रकार सम्मेलन आयोजना गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने राजनीतिमा जो कोहीले आआफ्नो धारणा राख्न पाउने बताएका थिए । सोमबार उनले पत्रकार सम्मेलन गर्दै पार्टीबाट श्रेष्ठ अलग भए पनि आफूले केही गर्न नसक्ने घुमाउरो पारामा बताएका थिए । 

सोमबार प्रचण्डले पार्टीमा बस्न मन नलागेका नेताहरुले छोडेर जानसक्ने अभिव्यक्तिसमेत दिएका थिए ।

उनले यसका लागि महाकाली सन्धि र त्यसपछि वामदेव गौतमले नयाँ पार्टी खोलेको प्रसंग पनि निकालेका थिए । तर, श्रेष्ठसहित पूर्व एकता केन्द्र समूहका नेताहरुले माओवादी पार्टीबाट विद्रोह गर्ने सम्भावना बढेको छ ।

यही सम्भावनाबारे बुझेका प्रचण्ड मंगलबार हात्तिवनस्थित नारायणकाजी निवासमा समेत पुगेका थिए । अब श्रेष्ठले २० फागुनका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने अपेक्षा गरिएको छ । त्यसपछि उनी र उनीनिकट केही नेताहरु अलग हुनसक्ने अनुमान गरिएको छ ।
 

नारायणकाजी श्रेष्ठ प्रचण्ड

विशेष