News अपराध सुरक्षा

लेटाङमा प्रहरीको हत्या गर्ने योजना पहिला नै बनेको थियो ?

लेटाङमा प्रहरीको हत्या गर्ने योजना पहिला नै बनेको थियो ?

मोरङको लेटाङ–५, खेरुवास्थित शिक्षा विकास माध्यामिक विद्यालयका शिक्षक मनोजप्रसाद पौडेलले कक्षा ६ मा अध्ययनरत १२ वर्षीय बालिकामाथि यौन दुर्ब्यवहार गरेको आरोप लागेपछि सुरु भएको झडपमा एक महिला प्रहरीको हत्या भयो। गत आईतवार भएको उक्त घट्नालाई अहिले दुर्घटनाको रङ दिने प्रयास भईरहेको छ। तर, घट्नाको प्रकृति, अवस्था र भिडमा सुनिएको आवाजका आधारमा स्थानीयले भने त्यस्लाई सुनियोजित रुपमा भएको हत्या भनेका छन् ।

शिक्षक पौडेलले बालिकालाई यौन दुर्व्यवहार गरेको घट्ना वाहिरिएपछि विद्यार्थीले करिव १० बजे विद्यालयमा उजुरी गरे । उक्त उजुरीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा नम्बर ५ का वडाध्यक्ष भुम सूर्य मगरलाई प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रले फोन गरेर छलफलका लागि बोलाए ।

वडाध्यक्ष मगरले लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलालाई लिएर गए । छलफल भइरहेको कुरा बाहिर गयो । त्यसपछि स्थानीय अगुवा महिलाहरुले शिक्षकलाई तुरुन्त पक्राउ गरी कानुनी कारबाही गर्नुपर्छ भन्दै आवाज चर्को बनाए । अर्कोतर्फ विद्यालय प्रांगणमै ‘आज कि त शिक्षक मारिन्छ, कि त प्रहरी मारिन्छ ! कोही न कोही नमारी हुँदैन’ भन्दै कतिपयले भिडलाई उक्साउन थाले। त्यहाँ उपस्थित कतिपय युवामा ‘मान्छे मार्नै पर्छ’ भन्ने मानसिक्ता तयार भईसकेको थियो।

विद्यालयकी शिक्षिका लक्ष्मी खतिवडाले पनि भिडबाट ‘शिक्षक वा प्रहरी मार्नुपर्छ’ भनेको आवाज आफुले पनि सुनेको बताएकी छिन्। आक्रोश वढ्दै जाँदा केही दिन अगाडि लेटाङको ज्यामिरेकी बालिकाको बलात्कारपछि हत्या भएको कुरा पनि निस्कियो। उक्त घट्नाले युवाहरुको समुहमा आक्रोश वढ्दै गयो।

विद्यालय वाहिर प्रदर्शन उग्र हुँदै थियो। आरोपीत शिक्षकलाई पक्राउ गर्न ढिलो गरेको तथा उनलाई जोगाउन खोजेको भन्दै शिक्षक विरुद्धको आक्रोश प्रहरीप्रति केन्द्रित हुन थाल्यो। प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या हुनु अघिसम्म शिक्षकको विरुद्धमा भन्दा विस्तारै प्रहरी विरुद्धमा भिड जम्मा हुन थालेको थियो ।

लेटाङ प्रहरीले त्यही दिन ज्यामिरेकी बालिका बलात्कारसम्बन्धी मुद्दामा पक्राउ परेकालाई अदालतमा उपस्थित गराउनु पर्ने थियो । इलाका प्रहरी कार्यालय लेटाङमा भएको गाडी र केही जवान विराटनगर जिल्ला अदालत पठाएपछि स्थानीय प्रहरी सवारी साधनबिहीन भयो। त्यसैले पक्राउ परेका शिक्षकलाई लिन प्रहरीले एम्बुलेन्स पठायो ।

त्यस क्रममा प्रहरीले केही सेल अश्रुग्याँस पनि प्रहार गर्यो। भिड तितर वितर भयो भने केही विद्यार्थी घाईते भए । शिक्षक पौडेललाई एम्बुलेन्समा ल्याएको देखेपछि विद्यार्थी र युवासमुह आक्रोशित भयो। घाईते विद्यार्थीलाई टेम्पोमा र शिक्षक पौडेललाई एम्बुलेन्समा हालेर लान खोजेपछि उनलाई वचाउन खोजेको भन्ने माहौल तयार गरियो।

त्यसपछि एम्वुलेन्समा ढुङ्गामुढा भयो। एम्बुलेन्सको सिसा फुटेपछि शिक्षक पौडेललाई फर्काइयो। त्यसपछि भिड आक्रोशित भएर झडपको अवस्था आएको स्थानीयहरु वताउँछन् । दोषी शिक्षकलाई एम्बुलेन्समा लान खोजेपछि प्रहरी पनि मिलेको हुनुपर्छ भन्ने आवाज वढदै जाँदा प्रहरीविरुद्धमा भिड जाइलागेको र जवान श्रेष्ठको हत्या भएको उनीहरुको भनाई छ।

प्रहरीले पनि उक्त घट्ना कसैको उक्साहटमा भएको र त्यसका लागि लागूऔषध दुर्ब्यसनीलाई प्रयोग गरिएको आशंका गरेको छ । जसमा निजी विद्यालय पनि शंकाको घेरामा छन् । अंग्रेजी माद्यममा पढाई हुँदै गरेको शिक्षा विकास माध्यमिक विद्यालयकाका कारण आसपासका निजी विद्यालयले विद्यार्थी अभाव खेप्दै आएका छन् । 

यस वाहेक राजनीतिक प्रतिशोधका कारण पनि घटनाले उग्ररुप लिएको हुन सक्ने प्रहरीको आशंका छ। वडाध्यक्षहरुबीच द्वन्द्वले पनि घट्नालाई मलजल गरेको देखिएको छ। घटनास्थलमा अत्यधिक मात्रामा बोतलका सिसा फेला पर्नु, दिउँसैदेखि ‘कसै न कसैलाई मार्नुपर्छ’ भन्दै हिड्नु र भिडमा महिला प्रहरी श्रेष्ठको घाँटीमा चक्कु प्रहार गर्नुले यो घट्ना सुनियोजित रुपमा भएको आशंका गरिएको छ। 

घटनामा गैरकानूनी काम गर्दा पक्राउ परेका मानिसहरुले पनि पूर्वाग्रह राखेर प्रहरीमाथि आक्रमण गरेको आशंका छ। तस्करीका सवारी साधन पक्राउ पर्नु, लागूऔषध नियन्त्रण र कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ र कारवाही हुनुले पनि यो घट्नामा प्रहरीलाई टार्गेटमा राखिएको आशंका छ।

उक्त घट्ना अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालय विराटनगरले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा एक डिएसपी, एक इन्सपेक्टरसहितको पाँच सदस्यीय समिति गठन गरेको छ। उक्त घट्नामा महिला प्रहरी जवान श्रेष्ठको मृत्यु भएको छ भने २५ प्रहरी र सातजना सर्वसाधारण घाइते भएका थिए । घटनामा संलग्न भएको आशंकामा मोरङ प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

यो पनि

लेटाङ

विशेष