News राजनीति

माओवादीमा पहिरोः रंगेलीका मेयरपछि महराका स्वकिय सचिव एमाले प्रवेश

माओवादीमा पहिरोः रंगेलीका मेयरपछि महराका स्वकिय सचिव एमाले प्रवेश

स्थानीय तह निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेले पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता दिएको छ। स्थानीय स्तरमा सानातिना नेता–कार्यकर्ता भन्दा पनि एमालेले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका गनेचुनेका नेतालाई निसानामा राखेर पार्टी प्रवेशको कार्यक्रमलाई अगाडि वढाएको छ। यस्ता कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली आफै सकृय भएर लागेका छन् ।

ओलीले खासगरी माओवादी केन्द्रका नेताहरुलाई रणनीतिक रुपमा एमाले प्रवेश गराईरहेका छन् । त्यस्ता नेता एमालेमा प्रवेश गर्दा माओवादीलाई  तात्विक असर गर्ला/नगर्ला, तर सर्वसाधारणको नजरमा भने माओवादीका धुरन्धर नेताहरुले समेत एमाले राज्न थालेको भन्ने भान पर्न थालेको छ। 

यसैक्रममा यौन दुर्ब्यवहारको आरोपमा लामो समय हिरासतमा वसेका माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नै उनको साथ छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टीबाट असन्तुष्ट शर्माले दुई दिन अगाडि माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए ।


काठमाडौंमा बुधवार एमालेको केन्द्रीय कमिटी बैठकमा ओलीले शर्मा र उनकी पत्नी सीतालाई पार्टीमा स्वागत गरे । शर्मा नेकपा माओवादी केन्द्रको घोराही उपमहानगर कमिटीको अध्यक्ष थिए । अघिल्लो स्थानीय तह निर्वाचनमा उनकी पत्नी सीता घोराही उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार थिइन् तर पराजित भएकी थिइन् ।

यसअघि माओवादीबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल नेकपा एमालेका प्रवेश गरेका थिए। उनीहरुसँगै वडा १,५ र ७ बाट निर्वाचित वडाअध्यक्ष पनि एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई फागुन २५ गते रंगेलीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका थिए ।


जनयुद्धमा शर्माको पुरै परिवार आन्दोलनमा
शर्माले लामो समयसम्म कृष्ण बहादुर महराको स्वकीय सचिव भएर काम गरेका थिए । महरा जतिपटक मन्त्री बने त्यति नै पटक उनी स्वकीय सचिव बनेका थिए । माओवादी जनयुद्धमा उनको पुरै परिवार सहभागि थियो। प्रमोदकी पत्नी सीता चौधरी शहीद परिवारकी सदस्य हुन् । सीताका दाजु माओवादी केन्द्र घोराही नगर कमिटीका सचिव छन् ।

प्रमोदका ठुला दाइ प्रदीप शर्मा पनि माओवादी आन्दोलनमा मारिएका थिए ।  माहिला दाइ प्रकाश माओवादी केन्द्रको घोराही उपमहानगरपालिका– १५ को सचिवालय सदस्य र कान्छो भाइ प्रवीण शर्मा माओवादी केन्द्रको दाङ जिल्ला समन्वय समितिको सदस्य छन् । 

प्रमोद घोराही नगरकमिटी अध्यक्ष थिए । उनी लुम्बिनी प्रदेश कमिटी सदस्यको आकांक्षी थिए । तर प्रदेश कमिटीमा नपरेपछि चर्को असन्तुष्टि व्यक्त गर्दै माओवादी केन्द्र छाडेको घोषणा गरेका थिए । उनको पुरानो घर रुकुम हो। उनका बुवा हरिप्रसाद शर्मा दाङको घोराहीमा बसाइँ सरेर आएका थिए । बुवा हरिप्रसाद माओवादी सरकारको पालामा गुठी संस्थानको अध्यक्ष नियुक्त भएका थिए । प्रमोदकी आमा माओवादी केन्द्र दाङको जिल्ला सल्लाहकार छिन् ।
 

प्रमोद शर्मा

विशेष