News राजनीति

काठमाण्डौमा ‘बाहुबली’ होईन ‘बजरंगवली’ मेयरको खोजी

काठमाण्डौमा ‘बाहुबली’ होईन ‘बजरंगवली’ मेयरको खोजी

स्थानीय तहको निर्वाचन नजिकिएसँगै काठमाण्डौं महानगरपालिकाको मेयरका उम्मेदवारहरुको नाम चर्चामा आउन थालेको छ। देशको संघीय राजधानी भएका कारण पनि काठमाण्डौंका मेयरको उम्मेदवार प्रति चासो हुनु स्वभाविक हो।

काठमाडौंको मेयरका लागि उम्मेदवार वन्न हरेक पार्टीमा तिव्र लविङ छ चलिरहेको छ। पार्टीको केन्द्रदेखि जिल्ला तहका नेताहरुले आ–आफ्नो तरिकाले उम्मेदवारी हत्याउन तयारी गरिरहेका छन् । पार्टी मात्र होईन, स्वतन्त्र उम्मेद्वार बन्नेहरुको चर्चा पनि ब्यापक छ। नेपाली सिनेजगतका चर्चित अभिनेता राजेश हमालदेखी ¥यापर बालेन शाहसम्मले महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने इच्छा ब्यक्त गरेका छन् भने कतिपयले उम्मेदवार वन्ने घोषणा नै गरेका छन् ।

यसैबीच पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफू काठमाडौंको मेयरमा उठ्ने मिल्ने वताउँदै मेयर वनेर सेवा गर्ने इच्छा पनि भएको वताएपछि यसले एक प्रकारको तरंग उत्पन्न गराएको छ।

उनले विश्वका विभिन्न देशमा प्रधानमन्त्री भइसकेका व्यक्तिहरू आफ्नो नगरको मेयर बनेका उदाहरण पेस गर्दै सार्थक काम गर्नका लागि सांसद ताक्ने भन्दा पनि आफनो पालिकाको प्रमुख वने राम्रो हुने वताएका छन् ।

आगामी वैशाख ३० गते हुने निर्वाचनमा काठमाण्डौंका लागि मेयर, उपमेयर, ३२ वडाका  अध्यक्ष र वडा सदस्य पदका लागि निर्वाचन हुने पक्कापक्की जस्तै छ।  सबै पदहरू ५  वर्षको अवधिका लागि हुन्। 

काठमाण्डौमा यस पटक ‘बाहुबली’ होईन बजरंगवली ‘मेयर’ को खोजी हुँदैछ। यहाँ बाहुबलीले चुनाव जित्न सक्दैन, वजरंगवली उम्मेदवार नै चाहिन्छ भन्ने आवाज चर्को छ।

बजरंगवली नै किन ?
काठमाडौं नेपालको केन्द्रीय राजधानी तथा मुलुककै पहिलो महानगर र धार्मीक शहर पनि हो । धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको यस शहरको इतिहास लगभग २ हजार वर्ष पुरानो छ।

यहाँ नेवार समुदायको वर्चस्व छ। कला, संस्कृतीको जीवन्त इतिहास तथा प्राचिन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरु मध्येको एक शहरका रुपमा रहेको काठमाण्डौमा स्वयंभु, बौद्ध, पशुपतिनाथ, हनुमानढोका क्षेत्र लगायतका विश्व सम्पदा सूचीमा अंकित अनेकौ स्थल छन्। 

त्यसैले मठमन्दिरको प्रभाब, रैथाने नेवार समुदायको सहयोग र गैरनेवार समुदायको मन जितेर विकासको प्रत्याभुती गराउन सक्नु आगामी उम्मेदवारका लागि चुनौतिपूर्ण छ। यहाँका मतदाता साक्षर छन्, त्यसैले हावादारी नारा भन्दा पनि वास्तविकत्तामा आधारित भएर अघि वढ्न सक्ने उम्मेदवार यस पटक विजयी हुन सक्ने आंकलन गर्न थालिएको छ।

सामान्य ब्यक्तिले अवको काठमाण्डौंलाई सम्हाल्न सक्ने अवस्था छैन। त्यसैले अहिलेको अवस्थामा गुणात्मक सुधारका लागि वुद्धि, विवेक र अडान भएको मेयरको खोजीमा छ, काठमाण्डौं। जसका लागि वाहुवली होईन, हरेक हिसावले वजरंगवली उम्मेदवार चाहान्छन यहाँका वासीन्दा।

यस्तो थियो अघिल्लो निर्वाचनको परिणाम
०७४ को निर्वाचनमा नेकपा एमालेले २० हजार मतान्तरले काठमाण्डौंको मेयर जितेको थियो। एमालेका विद्यासुन्तर शाक्यले ६४ हजार ९१३ मत ल्याउँदा नेपाली कांग्रेसका राजुराज जोशी ४५ हजार २५९ मत प्राप्त गरेका थिए ।

तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रन्जु दर्शनाले २३ हजार ४६९ मत प्राप्त गरेकी थिइन् भने १८ हजार ४९६ मतका साथ साझा पार्टीका किशोर थापा चौथो स्थानमा थिए । महानगरका ३२ मध्ये १८ वडा एमालेले जितेको थियो।

मेयरका सम्भावित उम्मेदवार
राजेश हमाल– नेपाली चलचित्रका नायक राजेश हमालले काठमाण्डौंको मेयर वन्ने इच्छा जनाएका छन् । आफ्नो अफिसियल युट्युव पेज सार्वजनिक गर्दै उनले अपलोड गरेको भिडियोमा काठमाडौं शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान नदिएको भन्दै आफ्नो मेयर बन्ने चाहना ब्यक्त गरेका थिए । त्यसवेला हमाल नेकपा एमालेमा प्रवेश गर्ने र मेयरको टिकट लिने हल्ला पनि चलेका थियो । हुन त अभिनेता हमालले राजनीतिमा आउने संकेत बेला बेलामा गर्दै आएका छन्। उनले अहिले दिएको काठमाडौंको मेयर नै बन्ने इच्छा पनि त्यसै अनुसारको संकेत मान्न सकिन्छ। अर्कोतर्फ, हमालको मेयर बन्ने विषय हल्ला मात्र पनि हुन सक्छ। हुन त उनी फिल्मी क्षेत्रका वाहुवली नै हुन । तर, रिल र रियलमा आकाश र जमिनको फरक हुन्छ। त्यसैले उनी उम्मेदवार वनिहाले पनि चुनाव जित्ने अवस्था वन्ला त ? उनी पर्दामा बाहुबली हुन् सक्लान तर बजरंगवली मेयर बन्ने कुरा सम्भाबना कम छ। किनकी उनीमाथि ‘क्रिस्चियनको ट्याग’ लागेको छ। उनलाई क्रिस्चियन धर्मको प्रचारकको आरोप लागेको छ ।   

बालेन शाह– चर्चित -यापर बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। सामाजिक सञ्जालमार्फत उम्मेदवारी दिने घोषणा गरेका उनी ३१ वर्षीय स्ट्रक्चरल इन्जिनियर हुन्। उनी भन्छन्–‘अहिले युवाहरुको समय हो। म आफ्नो घर, परिवार, जनता र देशलाई खुशी बनाउने कुरामा लाग्न चाहन्छु, त्यो प्रदूषण हटाउने होस् वा सडकका खाल्डाखुल्डी भरेर पनि होस्, जनताको खुशीका लागि मेयर पदका लागि उम्मेदवार छु । जनता खुसी हुनुपर्छ । तर नायक राजेश हमाल र उनको धरातल एउटै हो। उनले पनि रिलमा चर्चा कमाए तर, रियलमा काठमाण्डौंवासीले पत्याउलान/नपत्याउलान त्यो भने हेर्न वाँकी छ।

रञ्जु दर्शना– ०७४ सालको स्थानीय तह निर्वाचनमा जनताले रुचाएकी उम्मेदवार हुन रञ्जु दर्शना । दोस्रो संविधानसभाको निर्वाचनको दौरानमा विवेकशील नेपाली दलको बन्द विरोधी अभियानमा सहभागी हुँदै उनले राजनीति सुरु गरेकी हुन । उनले काठमाडौंलाई सुन्दर र सभ्य सहर बनाउने नारा दिएर मेयरमा प्रतिस्पर्धा गरिन। निर्वाचनमा काठमाडौंमा राम्रै चर्चा बटुलेको विवेकशील नेपाली दल मत परिणाममा भने तेश्रो भएको थियो । 

उनले २३ हजार ४६९ मत प्राप्त गरेकी थिइन् । विवेकशिल साझामा उतारचढाव आएपछि अहिले उनी पार्टीबाट अलग भएकी छिन्। उनी एमालेमा प्रवेश गर्ने हल्ला चलेपनि अहिलेसम्म उनले सो विषयमा बोलेकी छैनन्।

किशोर थापा– ०७४ सालको निर्वाचनमा मेयरमा चौथो मत प्राप्त गरेका किशोर थापा मूलतः पूर्वप्रशासक हुन् । ३२ वर्ष सरकारी नोकरी गरेका आर्किटेक्ट इन्जिनियर थापालाई शहरी योजना र हाउजिङका विज्ञ मानिन्छ । अवकासपछि पुनर्निर्माण र बाग्मती सफाइमा सक्रिय थापा रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीमा आवद्ध भएर काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिए। उनले १८ हजार ४९६ मत प्राप्त गरेका थिए । यस पटक पनि उनी मेयरमा उठ्न सक्ने चर्चा छ।

एमालेमा विद्यासुन्दर र केशव स्थापितको चर्चा
सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै नेकपा एमालेमा पनि मेयरकालागि लविङ सुरु भएको छ। बजेटको हिसाबले देशकै ठूलो र संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा सत्ता चलाइरहेको नेकपा एमालेमा मेयर को भन्ने प्रश्न छ।

वर्तमान मेयर विद्यासुन्दर शाक्यले दोहोरिने चाहना राखेका छन् । १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका शाक्य ०७४ को निर्वाचनमा २० हजार मत ल्याएका थिए ।

अर्कोतर्फ २०५४ मा मेयर निर्वाचित भएका केशव स्थापित पनि २५ वर्षपछि पुनः सोही पदको दाबेदार बनेका छन् । हाल प्रदेशसभा सदस्य रहेका स्थापित अघिल्लो निर्वाचनमा पनि मेयरका आकांक्षी थिए । तर, उनलाई पछि पार्दै विद्यासुन्दरले टिकट पाएका थिए ।

विद्यासुन्दर दुईपटक वडाध्यक्ष हुँदै मेयर बनेका हुन् । यसपटक केशव स्थापित र विद्यासुन्दरमध्ये कसलाई अघि बढाउने भन्ने बहस एमालेमा पेचिलो बनेको छ । सर्वसाधारणको नजरबाट हेर्दा दुवै उम्मेदवारका राम्रा र कमजोरी पक्ष पनि छन्। शाक्यले मेयर हुँदा निकै आलोचित भए। तर, मठमन्दिर तथा गुठीलाई उनले धेरै सहयोग गरेको छन्। उनले काठमाण्डौंमा देखिने गरी केही विकास निर्माणका काम पनि गरेका छन् । नेवार समुदाय र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उनको साथमा छन् । तर, उनी अन्तरमुखि स्वभावका छन्। उनको प्रश्तुती कमजोर छ। त्यसैले आफुले गरेका काम पनि देखाउन सक्ने खुवी उनमा देखिदैन।

अर्कोतर्फ काम पनि गर्ने र वोल्न पनि सक्ने उम्मेदवारका रुपमा स्थापित अघि आएका छन् । ०५४ मा मेयर जितेपछि उनी बिबाद र आलोचनाका बीचमा रहे। तर, उनले राम्रा र उदाहरण योग्य काम गरेका छन् ।

हालको माइतीघर मण्डला रहेको व्यस्त बजारमा सडक अतिक्रमण गरेर बनाएको बजार नै भत्काएर रातारात आकर्षक मण्डला तयार पारेका थिए । कालिमाटी कुलेश्वर खण्ड विस्तार गरेर जनताको नजरमा बिकासप्रेमी नेताको उपमा पनि पाएका मान्छे हुन । बाबु बितेको बेला पनि सडकमा बसेर स्काभेटरसँगै कामलाई प्राथमिकता दिएको बेलादेखि उनी चर्चामा आएका हुन। आधुनिक काठमान्डौंमा आशा र उर्जाको प्राण भर्ने मान्छे हुन स्थापित। समग्रमा क्षमता भएका नेता मै पर्छन स्थापित। तर अस्थिरता र आफ्नो योजना र सपनाभन्दा अरुको योजना र सपनालाई कम आकने स्वभाव उनको कमजोरी हो । मान्छेलाई उत्साहित पार्ने, प्रेरणा भर्ने र झिलिमिली सपनाको खेति गर्ने मान्छेमा गनिन्छन स्थापित।

कांग्रेसभित्र टिकटकै लडाई
बहुदलीय व्यवस्था स्थापनापछि भएका तीनवटा स्थानीय निर्वाचनमध्ये एउटा निर्वाचन कांग्रेसले जितेको छ। ०४९ सालमा महानगरका पहिलो मेयर कांग्रेसका पिएल सिंह थिए । सत्ता गठबन्धन चुनावसम्म कायम रहे राजधानीको सत्ता जोगाउन यसपटक एमालेलाई चुनौती छ । काठमाडौंमा माओवादी, नेकपा एस र जसपाले मेयर दाबी गर्ने जनमत छैन तर एमाले हराउन उनीहरूको मत कांग्रेसलाई एकमुष्ट जाँदा गठबन्धन बलियो हुनसक्छ । 

तर, कांग्रेसमा मेयरको उम्मेदवारका लागि लडाई छ। आधादजर्नन भन्दा वढि नाम चलेका नेता उम्मेदवारको लागि मैदानमा देखिएका छन् । जसमध्ये अघिल्लो निर्वाचनमा विद्यासुन्दर शाक्यसँग २० हजार मतान्तरले पाराजित भएका राजुराज जोशी, हालकी उपमेयर हरिप्रभा खड्गी, कांग्रेस काठमाण्डौंका सभापति नीलकाजी शाक्य, पुर्वमन्त्री भीमसेनदास प्रधान, पूर्वस्वास्थ्य राज्यमन्त्री  तीर्थमान डंगोललगायतका नेताले मेयरको टिकटका लागि लविङ गरिरहेका छन् ।

यो पनि

‘महाराज’ केसब स्थापित फेरी काठमाण्डौंको ‘नगरपिता’ हुने !

काठमाण्डौं महानगरपालिका मेयरका उम्मेदवार

विशेष