News

चीनका विदेशमन्त्री वाङले खनाल, नेपाल र भट्टराईलाई नभेट्ने !

चीनका विदेशमन्त्री वाङले खनाल, नेपाल र भट्टराईलाई नभेट्ने !

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी आज तीन वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन् । उनी पूर्वतालिकाभन्दा २ घण्टाअगावै काठमाडौं आउने भएका छन् ।

उनी शुक्रबार साँझ ५ बजे काठमाण्डौ आईपुग्ने कार्यतालिका थियो। तीन दिने नेपाल भ्रमणका क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने छन् ।

यस वाहेकका अन्य नेतासँग भेट गर्ने उनको कार्यतालिका अहिलेसम्म छैन। आज विमानस्थलबाट उनी सोझै बत्तीसपुतलीस्थित होटेल द्वारिकाज पुग्नेछने। शुक्रबार यसबाहेक अर्को कुनै पनि औपचारिक कार्यक्रम छैन।

शनिबार बिहान साढे ६ वजे शिवपुरी हाइकिङ जानेछन्। त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेटघाटको कार्यक्रम  छ । त्यही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

त्यसपछि उनी सिंहदरबारबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार जानेछन् । उनले काठमाडौंबाटै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम पनि छ । पोखरा विमानस्थल चिनियाँ सरकारको ऋण तथा अनुदान सहयोगमा निर्माण सम्पन्न भएको हो ।

आइतबार बिहान साढे ९ वजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने कार्यक्रम छ। त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग नक्सालस्थित होटेल मेरियटमा घेटघाट गर्ने कार्यक्रम छ। यस वाहेकका पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल र बावुराम भट्टराईसँग भेटघाट गर्ने उनको कार्यतालिका छैन।

पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण सकेर नेपाल भ्रमणमा आउन लागेका वाङ ओली र दाहालसँगको भेटघाटपछि होटेल द्वारिकाज जाने र त्यहीँबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

वाङ यी चीनका विदेशमन्त्री

विशेष