News

संस्थापनइतरको नेता वन्न खोजेका पौडेललाई जवाफ– हाम्रो नेता शेखर हो

संस्थापनइतरको नेता वन्न खोजेका पौडेललाई जवाफ– हाम्रो नेता शेखर हो

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र प्रतिस्पर्धी डा. शेखर कोईराला विच राजनीतिक दुरी वढ्दै गएको छ। देउवाले दोश्रो पटक नेतृत्व सम्हालेको साढे तीन महिनामै देउवा र कोइराला समूहबीच संघर्ष चर्किन थालेको छ । 

सत्ता गठबन्धन दलसँग देउवाले लिएको चुनावी तालमेलसम्बन्धी रणनीति र पार्टी सञ्चालनको दिशामा देउवाले अँगालेको कार्यशैलीले पार्टीको चौधौं महाधिवेशनबाट प्राप्त ४० प्रतिशत मतको उपेक्षा गरिएको निष्कर्ष कोइराला समूहको छ ।

देउवाले एकलौटी गरेको भन्दै कोइराला समूह आक्रोशित छ । पार्टीभित्र एकता नखोज्ने, गठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने र पछि फेरि प्रधानमन्त्री बन्ने रणनीतिका साथ सभापतिले उम्मेदवार चयन र गठबन्धन बनाउने आफ्नो राजमार्ग फराकिलो बनाउँदै लगेको कोईराला पक्षका नेताहरुको वुझाई छ। कोइराला समूहको अबको रणनीति पार्टीका हरेक संरचना र सबै तहका चुनावमा ४० प्रतिशतको हिस्सा खोज्नेमा छ । 

यसैविच नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरूको भेला गरेका छन्। बोहराटारस्थित निवासमा शुक्रबार बिहान पौडेलले दुई घन्टा बढी नेताहरूसँग कुराकानी गरे। कांग्रेसको केन्द्रीय समिति बैठक बस्नुअघि पौडेलले आफूनिकट केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वसभापतिहरूलाई बोहराटारमा बोलाएका हुन्। 

गत मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा अन्तिममा चुनावी प्रक्रियामा सहभागी नभएका पौडेलले त्यसपछि पहिलो पटक आफूनिकट यति धेरै नेताहरूसँग छलफल गरेका हुन्। संस्थापनइतर समूहको नेतृत्व गरेका पौडेल नै महाधिवेशन प्रक्रियाभन्दा बाहिर बसेपछि उनकै समूहभित्रका प्रकाशमान सिंह र शेखर सभापतिका उम्मेदवार बनेका थिए। 

महाधिवेशनपछि बसेको शेखर पक्षको बैठकले पौडेल र शशांकले सभापति देउवालाई नै सघाएको दाबी गरेका थिए। त्यसपछि शेखर पक्षले राखेका भेलामा पौडेल र शशांक देखिएका छैनन्। पौडेलको पछिल्लो चाहना फेरी पनि देउवाइतर समूहको नेताका रूपमा स्थापित हुने छ। भेलामा उनले मुखै खोलेर पनि सहयोग गरे अभिभावकको भूमिका खेल्दै नेताहरूको संरक्षण गर्ने प्रतिवद्धतासमेत जनाए।

तर, उनले बोलाएको भेलामा शेखर कोइरालालगायत नेता गएनन् भने पूर्वमहामन्त्री शशांक कोइराला, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, दीपक गिरी, मधु आचार्य, गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ भेलामा पुगेका थिए।

सहभागि मध्येका केन्द्रीय सदस्य बलबहादुर केसीले १४ औं महाधिवेशनपछि आफूहरूको गुटको नेता शेखर कोइराला भएको जवाफ पौडेललाई दिए । ‘पार्टीभित्रका नेताहरूको हिसावले सहमति भए पनि नभए पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेल त हुँदै हो,’ उनले भने, ‘तर टिमको हिसावले १४ औं महाधिवेशनमा हामी शेखर टिमबाट उठेकोले हाम्रो गुट नेता उहाँ नै हो भनेर मैले भनेँ।’– उनले भने।

केसीले नेता पौडेललाई आफू संस्थापन कि संस्थापनइतर कतातर्फ हो भन्ने प्रष्ट हुन आग्रह गरेका थिए।
 

विशेष