News विदेश

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण, काम बाँकी रहँदै पोखरा विमानस्थल उद्घाटनको हतारो

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण, काम बाँकी रहँदै पोखरा विमानस्थल उद्घाटनको हतारो

काठमाडौं- चिनियाँ विदेशमन्त्री तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार काठमाडौं ओर्लिँदैछन्। परराष्ट्र मन्त्रालय चिनियाँ विदेशमन्त्री वाङ यीको तयारीमा जुटिरहँदा पोखरा विमानस्थलमा पनि कामको चटारो बढेको छ। सरकारले बहुमतका साथ अमेरिकी सहयोग परियोजना एमसीसी संसद्‌बाट अनुमोदन गर्दै कार्यान्वयनमा अघि बढेपछि चीन तनावमा आएको हो। 

चीनले एमसीसीलाई रोक्‍ने प्रयास नगरेको पनि होइन। अन्तत: विरोधमा रहेका दलहरुले पनि ब्याख्यात्मक टिप्पणी गर्दै संसद्‌बाट अनुमोदन भएपछि चीनले एक विज्ञप्ति जारी गर्दै नेपालमा एमसीसी पारित भएकोप्रति आफू जानकार रहेको प्रतिक्रिया दिएको थियो। 

एमसीसी अनुमोदन भएलगत्तै चीनले नेपाल भ्रमणको तयारी थालेको हो। दक्षिण एसियाको एक साताको भ्रमणमा निस्किएका चिनियाँ विदेशमन्त्रीले एक दिन अफगानिस्तान र भारत भ्रमण गरे भने तीन दिन पाकिस्तानमा बिताए। त्यसैगरी तीन दिने भ्रमणका लागि भारतको नयाँ दिल्लीबाट शुक्रबार बेलुका काठमाडौं ओर्लिँदैछन्। 

मुलुकमा अमेरिकी सहयोगले विकास परियोजना अघि बढ्ने सन्देश गइरहेको समयमा उक्त सन्देशरुलाई डाइभर्ट गर्न पोखरामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने भएको छ। चिनियाँ विदेशमन्त्रालयले पोखरा विमानस्थलको उद्घाटनको तयारी गर्न पनि नेपाल सरकारलाई दबाब दिएको थियो। नेपाल सरकारले काम अधुरै रहेको बताए पनि जति काम सकिएको छ, त्यति नै हस्तान्तरण गर्ने र उद्घाटन गरेर नेपालको विकासमा चीन पनि लागि परेको छ भन्‍ने सन्देश दिन चिनियाँ विदेशमन्त्री लागि परेका छन्। 

राष्ट्रपति सी जिनपिङका विशेष दूत बनेर आउन लागेका विदेशमन्त्री वाङले चिनियाँ कम्पनीले काम समयमा नगर्दाको कुरा उठाउन चाहेनन्। बरु अधुरै काम अलपत्र छोडेर उद्घाटनका लागि तम्सिएका हुन्। विमानस्थलको निर्माण कार्य अझै सात प्रतिशत हुन बाँकी छ। 

चीनले यसअघि अमेरिकाले नेपालमा जबरजस्ती कूटनीति चालेको आरोप लगाएको थियो। तर, अहिले अमेरिका, भारत र अन्य पश्‍चिमा मुलुकहरुलाई देखाउन निर्माण सम्पन्‍न नभएको परियोजनाको उद्घाटनका लागि आफैं जबरजस्ती कूटनीतिको प्रयोग गरिरहेको छ।

विशेष