News विदेश

बढ्दो कोरोना महामारीसँग लडिरहेको चीन रुस-युक्रेन युद्धले थप संकटमा

बढ्दो कोरोना महामारीसँग लडिरहेको चीन रुस-युक्रेन युद्धले थप संकटमा


बेइजिङ । चीनमा कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण तीव्ररुपमा बढ्दै गएपछि लकडाउन र विभिन्‍न प्रतिबन्धात्मक नियमहरु जारी गरिएका छन्। 
विगत तीन वर्षदेखि जारी कोरोना महामारीका कारण चीनले आर्थिक गतिविधि, आपूर्ति शृङ्खला र निर्माण कार्यमा निरन्तर अवरोधहरुको सामना गरिरहेको छ। यससँगै चीनका लागि युक्रेन-रुस युद्ध थप संकटको रूपमा देखिएको छ।
नीति अनुसन्धान समूहका अनुसार यदि चीनले युक्रेनविरुद्धको आक्रामकतामा रुसको समर्थकको रूपमा चिनिन्छ भने अमेरिका र ईयू लगायतका पश्चिमी सहयोगीहरूले चिनियाँ प्रविधि कम्पनीविरुद्ध आफ्नो प्रतिबन्धलाई कडा पार्न सक्ने र बेइजिङ विरुद्ध ट्यारिफहरु बढाउनसक्ने बताइएको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मस्कोलाई प्रतिबन्धहरू बाइपास गर्न मद्दत गरेकोमा बेइजिङलाई चेतावनी दिएका छन्। 
रुस-युक्रेन द्वन्द्वका कारण प्रतिबन्धको असर बेइजिङमा पनि पर्नेछ। रुसको सैन्य कारबाहीपछि अमेरिका र यसका युरोपेली सहयोगीहरूले रुसलाई स्विफ्ट वित्तीय प्रणालीबाट बाहिर निकाल्नुका साथै राष्ट्रपति भ्लादिमिर पुटिनलगायत धेरै प्रमुख रुसी बैंक र उच्च पदस्थ रुसी अधिकारीहरूलाई लक्षित गरी प्रतिबन्धहरू लगाएका छन्।
बाइडेन प्रशासनको निर्यात नियन्त्रणहरू कुनै पनि देशमा उत्पादित सामानहरूमा लागु हुन्छ, जबसम्म उनीहरूले अमेरिकी प्रविधि प्रयोग गर्छन्।
ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी र सांघाईमा आधारित सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्डस्ट्री कर्पोरेशन जस्ता चिप निर्माताहरूले निश्चित कम्पोनेन्ट र उत्पादन प्रविधिको लागि अमेरिकामा भर पर्ने गरेका छन्। तथापि, वाशिंगटनले कडा लाइन अपनाउने हो भने चीनले जापान, दक्षिण कोरिया र नेदरल्यान्ड्स जस्ता अन्य प्रमुख प्रविधि निर्यातकहरूको जोखिम पनि सामना गर्नेछ। यसका सरकारी स्वामित्वका बैंकहरूले पनि रुससँग व्यापार जारी राख्‍न समस्या सामना गर्न सक्छन् किनभने तिनीहरू अझै पनि अमेरिकी डलरमा निर्भर छन्।

विशेष