News राजनीति

कांग्रेस वैठकमा रामचन्द्रले माओवादीलाई भोट हाल्नुपर्छ भनेपछि...

कांग्रेस वैठकमा रामचन्द्रले माओवादीलाई भोट हाल्नुपर्छ भनेपछि...

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एमालेलाई साईजमा राख्न माओवादी र एकिकृत समाजवादीलाई भोट हाल्नु पर्ने वताएका छन् । सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो विचार राख्दै पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बन्न दिन नहुने बताए।

पौडेलले अहिलेको लडाइँ एमालेविरुद्ध भएकाले नेकपा एकीकृत समाजवादी र माओवादीलाई मत दिएर भए पनि एमालेलाई साइजमा राख्नुपर्ने बताए । ‘ओलीलाई बलियो बन्न दिनुहुन्न । बरु समाजवादी र माओवादीलाई मत दिएर एमाले साइजमा राख्नुपर्छ’ उनले भने–‘लडाइँ एमालेविरुद्ध हो । गठबन्धन जरुरी छ ।’

बैठकमा आगामी स्थानीय तहको चुनावमा गठबन्धन गर्ने÷नगर्ने भन्ने विषयमा बहस भइरहेको छ । बैठकमा बोलेका अधिकांश शीर्ष नेता र केन्द्रीय सदस्यहरूले गठबन्धन गरेरै जानुपर्ने धारणा राख्दा शेखर कोइरालालगायत उनी पक्षका नेताहरूले एक्लै चुनावको सामना गर्न पार्टी तयार हुनुपर्ने बताएका छन्।

सभापति देउवाले ०७४ मा पार्टीका अधिकांश नेता हारेकोले यसपालि जित सुनिश्चित गर्न गठबन्धन गर्नुपर्ने बताए। ७५३ स्थानीय तहमा कांग्रेसले २५३ स्थानीय तहमात्रै जितेको थियो। ०७४ को स्थानीय, प्रदेश र संघीय चुनावमा कांग्रेसका अधिकांश नेता हारेका थिए। गठबन्धन नगर्ने हो भने यसपालि पनि त्यस्तै अवस्था सिर्जना हुन सक्ने सभापति देउवा बताउँछन्।

शेखर कोइरालाले भने सिद्धान्त नै नमिल्ने नेकपा माओवादी केन्द्रलगायतसँग केका लागि गठबन्धन गर्ने हो भन्ने प्रश्न गरे। उनले सिद्धान्त नमिल्ने पार्टीहरूलाई ‘बोक्न’ जरूरी नभएको बताउँदा सभापति देउवाले प्रतिवाद गरेका थिए।

चुनावी गठबन्धनबारे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको मत पनि बाझिएको छ। थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताउँदा शर्माले भने आवश्यकताअनुसार गठबन्धन गर्न सकिने धारणा राखेका छन्।
केन्द्रीय सदस्य रमेश लेखकले पनि गठबन्धन नभत्कने गरी चुनावी तालमेल गरेर जानुपर्ने धारणा केन्द्रीय समितिमा राखेका छन्। नेताहरूले बोल्ने क्रम आज सकिएको र भोलि गठबन्धनबारे सैद्धान्ति निर्णयमा पुगिने कांग्रेसले जनाएको छ।
 

विशेष