News

स्थानीय तह निर्वाचनका लागि २१ हजार ९ सय ५५ मतदान केन्द्र

स्थानीय तह निर्वाचनका लागि २१ हजार ९ सय ५५ मतदान केन्द्र

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका मतदाताको संख्या, मतदान स्थल र मतदान केन्द्रको टुंगो लगाएको छ। 

आइतबार बसेको आयोगको बैठकले देशभर १० हजार ७ सय ५६ वटा मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकेको हो। 

आयोगको सूचीअनुसार मधेस प्रदेशमा सबैभन्दा बढी मतदान स्थल २ हजार १ सय ६३ वटा र ४ हजार १ सय ८९ वटा मतदान केन्द्र तोकिएका छन्। मधेस प्रदेशका ८ जिल्लामा गरी मतदाताको संख्या ३३ लाख ३१ हजार १ सय ७० रहेको आयोगले जनाएको छ। 

प्रदेश १ मा १ हजार ८ सय ७७ मतदान स्थल तथा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरिएको छ। जहाँ ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता छन्। बागमती प्रदेशमा १ हजार ७ सय ९२ मतदान स्थल तथा ४ हजार ९५ मतदान केन्द्र राखिएका छन्, जुन प्रदेशमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८ सय ६९ जना मतदाता छन्।

गण्डकी प्रदेशमा १ हजार २ सय ५३ मतदान स्थल छन्, उक्त प्रदेशमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता छन्। ३२ लाख १९ हजार ४ सय ५७ मतदाता रहेको लुम्बिनीमा १ हजार ६ सय २९ मतदान स्थल तोकिएको छ।

यसैगरी १० लाख १ हजार २ सय ८२ मतदाता रहेको कर्णालीमा ९ सय ७ मतदान स्थल निर्धारण गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा १ हजार १ सय ३५ मतदान स्थल तय गरिएको छ। जहाँ १६ लाख ३२ हजार १ सय ५० मतदाता रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। 

स्थानीय तह निर्वाचन

विशेष