News

ओली र सभामुख सापकोटाबीच किन सुरु भयो ‘कागजी वार’ ? 

ओली र सभामुख सापकोटाबीच किन सुरु भयो ‘कागजी वार’ ? 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रकरणमा सभामुख अग्निप्रसाद सापकोटाको भुमिका माथि प्रश्न उठाएपछि दुवै जनाबीच ‘कागजी वार’ सुरु भएको छ। ओलीले ‘अमेरिकी सहायता सम्झौता एमसीसी पास गर्नुपरेमा आफूले आत्महत्या समेत गर्ने भनेर बोलेको’ अभिब्यक्ति दिएपछि उनीहरु विच शब्द युद्ध सुरु भएको हो ।

सभामुख सापकोटाले उक्त कुरा पुष्टि गर्न एमालेलाई चुनौती दिएका छन्। एमालेले मंगलबार निकालेको विज्ञप्तिमा एमसीसीलाई लिएर सभामुख सापकोटाको भूमिका र अभिव्यक्ति विवादित रहेको आरोप लगाईएको छ।  त्यसको जवाफमा सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार एक विज्ञप्ति निकाल्दै एमालेले राजनीतिक पूर्वाग्रहसहित आरोप लगाएको उल्लेख गरेका छन्। 

‘देशको जिम्मेवार राजनीतिक दलको लेटर हेडमा उहाँ (सभामुख) ले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनु भएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ’– विज्ञप्तिमा भनिएको छ।

सभामुखले अहिले संविधान, प्रतिनिधि सभा नियमावली र कानुनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गरिरहेको भन्दै सभामुखविरुद्ध कपोलकल्पित एवम् भ्रमपूर्ण विषयको उठान र दुष्प्रचार खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ– ‘उहाँले बोलेको भनेर प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौँ, आफ्नो राजनैतिक अभिष्ट पूरा गर्न अमर्यादित एवम् अशोभनीय रुपमा सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौँ।’

एमालेले मंगलबार निकालेको विज्ञप्तिमा ‘सरकारले दिएको बिजनेस सदनमा प्रस्तुत नगर्नेजस्ता पदीय दायित्व प्रतिकुल व्यवहार गर्दै आउनुभएका सभामुखले कुनै समय एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्ता आवेगपूर्ण अभिव्यक्ति दिनुभयो। षडयन्त्रको पटकथा तयार भएपछि भने ‘सभामुख भनेको अम्पायर हो’ भन्नेजस्ता शब्दावली प्रयोगमा ओर्लिनुभयो। यसले उहाँको यो व्यवहार पदीय कर्तव्यको पालनाभन्दा पनि दल विशेषको आज्ञापालन गर्ने देखिन्छ’ भन्दै आलोचना गरिएको थियो।
 

केपी शर्मा ओली अग्निप्रसाद सापकोटा

विशेष