News

भरतपुर महानगरमा यस कारण रेणु विरुद्ध उभिन्छ कांग्रेस

भरतपुर महानगरमा यस कारण रेणु विरुद्ध उभिन्छ कांग्रेस

गत चैत ११ गते भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफनो भाषणको अधिकांश समय छोरी रेणु दाहालको प्रशंसा र आफनो वढार्ईमा विताए।

भरतपुरको मेयरमा आफुले राम्रा कुरा मात्रै देखेको भन्दै उनको छोरीको प्रशंसामा फुलवुट्टा जोडे। रेणुकै पहलमा भरतपुर महानगरपालिका राष्ट्रिय स्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा चिनिन थालेको वताए । प्रतिकुल राजनीतिक अवस्थामा पनि रेणुले भरतपुरमा एकता खल्वलिन नदिएको बताएका दाहालले उनको सकारात्मक सोच र दृढ इच्छाशक्तिका कारण महानगरपालिकाले विकास गर्न सकेको बताए। 

भरतपुरको मेयरमा आफुले सकारात्मक सोच मात्रै भेटेको दावी गरेका उनी त्यतिमा मात्रै रोकिएनन्। रेणुले गरेका राम्रा कामको प्रशंसा नगरिदिएको भन्दै कार्यक्रमका अन्य वक्ता विरुद्ध आगो ओकले । उनले रेणुका पछाडि आफु खडा रहेको संकेत पनि दिए । चितवनको एउटा नागरिक राजनीतिका तमाम उतार–चढावका विचमा पनि दुई पटक देशको प्रधानमन्त्री वनेको भन्दै पछिल्लो चरणमा चितवनको विकासका लागि भरपुर योजनाहरु ल्याएको वताए । 

उनको भाषणमा रेणु दाहाल आगामी स्थानीय तहको निर्वाचनमा माओवादीका तर्फबाट फेरी पनि उम्मेदवार वन्दै गरेको स्पष्ट वुझिन्थ्यो। रेणु उम्मेदवार वन्ने र चुनाव जित्ने संकेत गर्न उनले नेपाली कांग्रेसका स्थानीय नेताहरुलाई पनि ‘तिमिहरुले विरोध गर्दैमा केही हुन्न’ भन्ने आशयको सन्देश दिए । चितवनका कांग्रेस नेताले माओवादीलाई भोट नहाल्ने वताई रहेका वेला उनले भने–‘निर्वाचनमा गठवन्धन हुन्छ। स्थानीय स्तरमा विरोध गर्दैमा केही हुँदैन, केन्द्रका नेताले गठवन्धनको विषयमा वोलेका छैनन्।’ 

दाहालले रेणुका वारेमा यसरी धर्ती–आकाश एक गर्दैगर्दा भरतपुर महानगरपालिकाको मयेर भएपछि उनले के गरिन् त ? भन्ने चासो पनि सर्वत्र छ। वास्तवमा विगत ५ वर्षमा भरतपुरमा विकास निर्माणका उल्लेखनिय काम भएका पनि छन्।

रेणुको नेतृत्वमा भएका विकास निर्माणका काम
महानगरपालिकाभित्र १ अर्ब ८५ करोडको लागतमा सिटिहल निर्माणदेखि, पुलचोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक, महानगरको रिङ्रोड, लिङक रोड, अन्य सडक कालोपत्र, नारायणी नदी किनारको विकास, खानेपानी, नारायणी नदी तटबन्धजस्ता विकासका कयौं काम भएका छन् ।

रेणु दाहालको कार्यकालमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा ग्राभेल गरिएको छ । नेपालकै सबैभन्दा लामो ८८ दशमलव ६ किमी महानगरीय रिङरोड निर्माणका लागि काम भईरहेको छ। जसको प्रारम्भिक लागत ८ अर्ब २० करोडको छ। प्रतिवेदन अनुसार सघन सहरी विकासबाट १० किमि, प्रदेश सरकारबाट ८ दशमलव ५५ किलोमिटर, सडक विभागबाट १२ किलोमिटर र महानगरबाट १० किलोमिटर गरी जम्मा ४० दशमलव ५५ किलोमिटर रिङरोड निर्माणको अन्तिम अवस्थामा छ। 

पुलचोकदेखि गोन्द्राङसम्म हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि १ अर्ब ९८ करोड ७३ लाखको लागतमा तीव्रगतिमा काम भइरहेको छ । बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढिको छ। हुलाकी सडकको १९ किलोमिटर विस्तार एवं स्तरोन्नति र भरतपुर –मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ।

भरतपुर महानगरपालिका–३ मा सार्वजनिक निजी साझेदारीविधि (पिपिपि) मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजाको सम्झौता भई काम अघि वढेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलन गर्न १ अर्ब ८५ करोडको लागतमा सिटी हल निर्माण द्रुतगतिमा भईरहेको छ। केन्द्रीय बसपार्कको स्तरोन्नति, शारदानगर, जखडिमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली र धनगढा खानेपानी आयोजना महानगरभित्रका महत्वपूर्ण आयोजना हुन । महानगरभित्र जनप्रतिनिधि आएसँगै ४ अर्ब भन्दा बढीका खानेपानी आयोजना निर्माण सम्पन्न र निर्माणाधीन अवस्थामा छन् ।

भरतपुर महानगरपालिका–३ स्थित नगरवनको सानो मजुवामा १ अर्ब ३५ करोडको लागत अनुमान रहेको अटोल्याण्ड निर्माणको प्रक्रियामा छ। वडा नं. २१ र वडा नं २० मा लघु औद्योगिक ग्राम निर्माणको कार्य अघि वढेको छ। नारायणी नदी किनारलाई सामुन्द्रिक तटीय मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने योजना छ। यसका लागि गुरुयोजना बनाएर २९ करोड लागतमध्ये महानगरपालिकाले ९७ लाखको लगानीमा एक किलोमिटर वाकिङ ट्रेल निर्माण गरिसकेको छ।

महानगरका पर्यटकीय गन्तव्य जोड्ने गरी ६ रात ७ दिनको टुर प्याकेज घोषणा गरिएको छ । भरतपुर अस्पतालमा ५ करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न बिरामी कुरुवा घर, भरतपुर–१४ को शिवनगर स्वास्थ्य केन्द्रमा एक्स–रे सेवासहित १५ शैय्याको अस्पताल र शारदानगर स्वास्थ्यचौकीमा १५ शैय्या क्षमताको कोभिड अस्पताल स्थापना गरीएको छ।

१ सय शैय्याको आयुर्वेद अस्पताल स्थापनाका लागि प्रक्रिया अघि बढेको छ भने ३ सय शैय्याको शिक्षक अस्पताल निर्माणका लागि आवश्यक पहल थालिएको छ । महानगरभित्र ४० वटा स्वास्थ्य संस्था सञ्चालनमा छन्। कोरियन सरकारको सहयोगमा ल्याण्डफिल साईटको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । १ अर्ब २५ करोड लागतमा निर्माण सम्पन्न गर्ने गरी आवश्यक प्रकृया अघि वढेको छ। 

महानगरपालिकाभित्र २५ करोड ५ लाख ९८ हजारको लागतमा लक्ष्मीनारायण मन्दिर, पहुँच मार्गसहितको रानीपोखरी पार्क निर्माणका लागि ठेक्का लागेको छ। खुल्ला जिमखाना, हरियाली प्रवर्द्धनलगायतका वातावरण संरक्षण र सहरी सौन्दर्यीकरणको काम सघन रुपमा अघि बढेको महानगरपालिकाले जनाएको छ ।

स्मार्ट सडक बत्ती योजना तथा १९ किलोमिटर भूमिगत विद्युतलाइन विस्तारको कार्य नेपाल विद्युत् प्राधिकरण तथा महानगरपालिकाको साझेदारीमा अघि बढेको छ । ३० किलोमटिर सडकमा स्मार्ट स्ट्रिट लाइट जडानको काम सुरु भएको छ । १३ वटा वडा कार्यालय निर्माण र ६ वटा वडा कार्यालयको तला थप गरिएको छ। महानगरपलिकाले अम्ब्रेला स्ट्रिट भ्यू प्वाइन्ट निर्माण गरी आन्तरिक पर्यटन प्रवर्द्धनको काम गरिरहेको छ । गोलाघाट र चौकी डाँडामा भ्यू टावर निर्माणको काम भईरहेको छ। देवघाटमा ९ करोड ९० लाखको लागतमा अत्याधुनिक शवदाहगृह निर्माणाधीन अवस्थामा छ ।

भरतपुर अस्पतालमा महिला ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई निःशुल्क ओपिडि टिकटको व्यवस्था, सुत्केरी हुने महिलाका लागि दूरीका आधारमा २ दुई हजार पाउने गरी एम्बुलेन्स खर्च प्रदान गर्दै आएको छ ।
 

यस कारण विरोधीले देखि सहेनन्
रेणुको नेतृत्वमा भरतपुरमा अतुलनिय विकास निर्माणका काम भएको कुरामा विरोधीहरु पनि सहमत छन् । प्रचण्ड पुत्री मेयर भएकै कारणले भरतपुरको विकास तिव्र रुपमा अघि वढेको विषयमा पनि सवै सहमत छन्। रेणुको ठाउँमा अर्को कोही मेयर भएको भए यत्तिको विकास सम्भव थिएन। एकातर्फ छोरी मेयर र अर्कोतर्फ आफनो निर्वाचन क्षेत्र भएकैले चितवन र भरतपुरको विकासमा प्रचण्डले दिलो ज्यान दिएको कुरामा प्राय सवै एकमत छन्।

तर, भरतपुरमा माओवादीका कारण आफनो राजनीति समाप्त हुँदै गरेको देखेका कांग्रेसका नेता/कार्यकर्ता प्रचण्ड र रेणुको खुलेर विरोध गर्छन। शेरबहादुर देउवाले आफनो राजनीति बचाउन चितवनमा कांग्रेस समाप्त पारेको उनीहरुको वुझाई छ।

उनीहरु चितवनमा हुने भनिएको कांग्रेस र माओवादी केन्द्रको गठबन्धनप्रति अहसमत छन्। ‘चितवनमा हामीले दुईपटक गठबन्धन गरिसक्यौँ। स्थानीय तहको निर्वाचन र संसदीय निर्वाचनमा पनि ग-यौं। कांग्रेस चितवनलाई धेरै मार प-यो। चितवनका कांग्रेसले दश/दश वर्षसम्म आफ्नो चुनाव चिह्न रुखमा भोट हाल्न नपाउँदा कांग्रेस छिन्नभिन्न हुने भयो।’ कांग्रेसका एक नेता भन्छन्–‘त्यसैले चितवनको महानगरपालिकामा यो पटक कांग्रेसको आफनै उम्मेदवार उठाउनुपर्छ।’

कांग्रेसको ६० हजार मत गत निर्वाचनमा माओवादीलाई दिनुपरेको भन्दै उनले एक पटक माओवादीलाई सहयोग गरेकाले यो पटक माओवादीले कांग्रेसलाई सहयोग गर्नु पर्ने तर्क गरे। ‘भरतपुरमा मेयर जित्दै गर्दा माओवादीले २९ मध्ये दुई वटा वडा जितेको हो। त्यसैलाई मेयर दिँदा कांग्रेसले मत कहाँ हाल्ने?’ उनी भन्छन्–‘रेणु दाहाललाई नै टिकट दिने कुरा आयो भने हाम्रै धेरै मान्छेले भोट हाल्दैनन।’

प्रचण्डका बाउ छोरीलाई जिताउँदै गएर कांग्रेस के हेरेर बस्ने? भन्दै उनले कांग्रेस कार्यकर्तालाई अरुको जितमा ताली बजाउने रुपमा मात्रै प्रयोग गर्न नहुने वताए।

यो पनि

रेणु दाहाल

विशेष