News

सम्भव छ आइतबार सार्वजनिक बिदा ?

सम्भव छ आइतबार सार्वजनिक बिदा ?

इन्धनको खपत घटाउन नेपाल आयल निगमले शनिबार र आइतबार सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। निगमले आइतबार पनि सार्वजनिक बिदा थप्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव गरेको हो ।

निगमले मन्त्रालयलाई पठाएको १० बुँदे प्रस्तावमा बिदाका दिन सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने जनाईएको छ। अत्यावश्यकबाहेक निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि निगमले प्रस्ताव गरेको छ । जोर बिजोर प्रणाली हुँदा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमको बुझाइ छ । 

इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा सरकारले प्रतिलिटर १५ रुपैयाँ घटाउनुपर्ने निगमको माग छ । इन्धनको मूल्य वृद्धिबाट उपभोक्तालाई बचाउन र निगमलाई जोगाउन भन्दै १० बुँदे प्रस्ताव मन्त्रालयमा पठाइएको हो । इन्धनको करसँगै एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ शुल्क मिनाहा गर्नुपर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्नुपर्ने निगमले जनाएको छ ।

रुस र युक्रेनबीच जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलर माथि कारोबार भइरहेको छ । जसले गर्दा निगमलाई घाटा चुलिँदै गएको छ ।

सार्वजनिक बिदा

विशेष