स्थानीय आवश्यक्ताका आधारमा कांग्रेसले तालमेल गर्ने
वैशाखमा हुने स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले अन्य दलसँग तालमेल गर्ने निर्णय गरेको छ। आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले स्थानीय परिस्थिति र आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय भएको हो ।
कांग्रेसको यो निर्णयसँग अव सत्ता गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेर अघि बढ्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। सत्तारूढ पाँचदलीय गठबन्धनलाई चुनावसम्मै लैजाने कांग्रेसले निर्णय गरेको हो। विधानको प्रक्रिया र व्यवस्थाअनुसार जुन तहलाई जुन अधिकार दिइएको छ त्यहीबाट तालमेलको निर्णय हुने पनि उनले बताए ।
कांग्रेस विधानअनुसार प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा संसदीय बोर्ड गठनको व्यवस्था छ। यही समितिले नै कुन दलसँग तालमेल गर्ने भन्ने निर्णय गर्नेछ। केन्द्रले संसदीय बोर्ड र अनुशासन समिति भने गठन गरेको छैन। आवश्यक परामर्शपछि गठन गर्ने तयारी रहेको महतले बताए।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गर्ने निर्णय पनि वैठकले गरेको छ। सभापति देउवाले उक्त समितिमा सदस्यहरू पछि मनोनीत गर्नेछन्।
तर नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायत भने गठबन्धनका पक्षमा थिएनन्।