News

‘लेग पिस’ ले लियो मातृका यादवका छिमेकी ४ बालकको ज्यान

‘लेग पिस’ ले लियो मातृका यादवका छिमेकी ४ बालकको ज्यान

धनुषाको सवैला नगरपालिका १२ का ४ जना बालकको सोमवार राती मोटरासाईकल दुर्घटनामा मृत्यु भएको छ। हेल्मेट विना एउटै मोटरसाईलमा सवार ५ जना मध्ये ४ बालकको मृत्यु भएको हो। एक बालक घाईते छन्।


प्रहरीका अनुसार राती करिव ८ वजे ज ६ प ६७३९ नम्बरको मोटरसाइकल सबैला नगरपालिका–१२ स्थित चौरिमा दुर्घटनामा भएको थियो। दुर्घटनामा १२ वर्षीय लक्ष्मी यादव, मोटरसाइकल चालक १५ वर्षीय राहुल यादव,  १४ वर्षीय सुमित यादव, १२ वर्षीय विकास यादव (बौका) र १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका थिए ।

उनीहरुलाई उपाचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। ति मध्ये सुरेन्द्र वाहेक चारै जनालाई अस्पतालले मृत घोषणा गरेको थियो। सुरेन्द्रको उपचार भईरहेको छ। उनीहरु पाँचैजना सवैला नगरपालिका वडा नम्बर २ स्थित एउटै टोलका हुन्। सवैला माओवादी केन्द्रका नेता मातृका यादवको गाउँ हो। दुर्घटनामा परेका वालकहरु उनका छिमेकी हुन । दुर्घटनाको जानकारी पाएपछि उनी अस्पतालमै पुगेका थिए ।
 
परिवारजनका अनुसार पाँचै जना रघुनाथपुर बजारबाट मासु खाएर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन । रघुनाथपुर बजार बालकहरुको घरबाट झण्डै तीन किलोमिटर टाढा छ। उनीहरु मध्ये राहुलले आफनै काका शंकर विहारी यादवको मोटरसाइकल लिएर हिडेका थिए । शंकरले विदेशबाट फर्केपछि मोटरसाईल किनेको पाईएको छ। राहुलले घरबाट हिड्दा ‘लेग पिस खान हिँडेको’ भन्दै साथीहरुलाई बताएका थिए ।


राहुल र उनका ती साथीहरु पहिले पनि मासु खान त्यहाँ जाने गरेका थिए। मृतक लक्ष्मी यादव उनको फुपूका छोरा हुन्। बल्टिया घर भएका उनी मामा घर बस्दै आएका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानले तीब्र गतिका कारण मोडमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको देखिएको छ। मृतकको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिएको छ भने जनकपुरधाम स्थित स्मसानघाटमा अन्त्येष्टि गरिएको छ। 

मातृका यादव सवैला नगरपालिका

विशेष