News

चौधौं महाधिवेशनपछि पहिलो पटक देउवालाई पार्टीभित्र धक्का 

चौधौं महाधिवेशनपछि पहिलो पटक देउवालाई पार्टीभित्र धक्का 

गत मंसिरमा दोश्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि शेरबहादुर देउवाले पहिलो पटक पार्टी भित्र धक्का महसुस गरेका छन् । आजै सम्पन्न केन्द्रीय समिति बैठक संसदीय समिति गर्ने प्रयास गरेपनि इतर समुहको चेतावनीका कारण देउवा अघि वढ्न सकेनन् ।

आफुले चाहेजस्तो नभएपछि विधानमा भएबमोजिम गठन गर्ने भनेर संसदिय समिति गठनको काम थाँती राखिएको छ। सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्केपछि संसदीय समिति र अनुशासन समिति बनाउने निर्णय भएको छ ।

बैठकको मुख्य एजेण्डाका रूपमा संसदीय समिति गठन रहेपनि नेता शेखर कोईरला पक्षको विरोधका कारण त्यो एजेण्डामा निर्णय हुन नसकेको एक नेताले वताए । वैठकमा १४औं महाधिवेशनमा सभापतिको निकटतम प्रतिस्पर्धी रहेका डा. कोइरालालाई संसदीय समितिमा नराख्न सभापति शेरबहादुर देउवामाथि दबाब बढेको थियो ।

कांग्रेसको विधानमा केन्द्रीय समितिका पदाधिकारीबाहेक केन्द्रीय सदस्यमध्येबाट ११ जना संसदीय समितिमा रहने प्रावधान छ । संस्थापन पक्षका अधिकांश नेताहरूले कोइरालाबिनाकै संसदीय समिति गठन गर्न दबाब दिएका थिए । तर, इतर समूहको नेतृत्व गरिरहेका कोइरालासहितका नेताहरुले सभापति देउवाले हरेक ठाउँमा पेलेर जान खोजेको भन्दै आपत्ति जनाए।

मंगलबार मात्रै महामन्त्री गगन थापाको ज्ञानेश्वरस्थित सचिवालयमा बसेको इतर समूहको बैठकले संसदीय समितिमा पनि आफूहरुको सम्मानजनक उपस्थिति नभए देशव्यापी आन्दोलनमा जाने चेतावनी दिएको थियो।

चौधौं महाधिवेशनमा प्राप्त ४० प्रतिशत मतलाई सभापतिले बेवास्ता गरेर एकलौटी ढंगले अगाडि बढ्न खोजेकाले बाध्य भएर आन्दोलनमा जानुपरेको इतरसमुहको तर्क छ। संसदीय समिति गठन गर्दा शेखर कोइराला समूहका वरिष्ठ नेताहरुलाई नसमेट्ने हो भने पार्टी नेतृत्वविरुद्ध देशैभर आन्दोलन सुरु हुने र सभापतिलाई घेराबन्दी गर्ने तयारी समेत भएको छ।

त्यो विषयले वैठकमा असर गरेपछि समिति गठन हुन नसकेको एकजना केन्द्रीय सदस्य बताए । उनका अनुसार इतर समूहबाट डा. रामशरण महत, अर्जुननरसिंह केसी र चित्रालेखा यादवको नाम संसदीय समितिमा राख्नु पर्ने प्रस्ताव छ। उनीहरुलाई समेट्दा संस्थापन पक्षका एनपी साउद, बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की नसमेटिने अवस्था आएपछि देउवा हच्किएको ती नेताले बताए । 

यो पनि

नेपाली काँग्रेस शेरबहादुर देउवा

विशेष