News

हिमाल सुरक्षा परिषदका नाममा इटहरीमा बम विस्फोट

हिमाल सुरक्षा परिषदका नाममा इटहरीमा बम विस्फोट

संघीयता खारेजीको माग गर्दै गत फागुन १५ गते सशस्त्र युद्धको घोषणा गरेको हिमाल सुरक्षा परिषदका नाममा सुनसरीको इटहरीमा बम विस्फोट गराईएको छ।

इटहरी २ नवजागृति टोलमा गतराती साढे १० वजे सुतली बम विस्फोट भएको हो। विष्फोटमा दुई जना घाइते भएका छन्। सोही स्थानमा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन्।

थापाको आँखामा चोट लागेकाले  विराटनगरको आँखा अस्पताल र गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उक्त वम पड्काएको भन्दा पनि आफैं पड्किएको जस्तो देखिएको छ।

बम विस्फोट भएको स्थानमा हिमाल सुरक्षा परिषद नेपालको पर्चा भेटिएको छ। विस्फोटमा पर्ने मध्येकै एक जनाले उक्त पर्चा ल्याएको जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी सन्जयसिंह थापाले वताए । 

विस्फोट कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। 

हिमाल सुरक्षा परिषद फागुन १५ गते विज्ञप्ति निकालेर सशस्त्र युद्धको घोषणा गरेको पार्टी हो। उनले संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका माग राखेको छ।
 

बम विस्फोट

विशेष