News विदेश

रुस–युक्रेन शान्तिवार्ताका ३ मध्यस्थकर्तालाई कस्ले खुवायो विष ?

रुस–युक्रेन शान्तिवार्ताका ३ मध्यस्थकर्तालाई कस्ले खुवायो विष ?

एक महिनाभन्दा लामो समयदेखी जारी रुस–युक्रेन युद्ध रोक्न शान्तिवार्तामा रहेका रुसी अर्बपति रोमन अब्रामोभिचलाई विष खुवाईएको दावी गरिएको छ। उनीसहित दुई युक्रेनी मध्यस्थकर्तालाई वार्ता भाँड्न खोज्ने रुसी कट्टरपन्थीहरूले विष खुवाएको हुन सक्ने आशंका गरिएको छ।

युक्रेन–बेलारुस सीमामा रुससँग यही महिनाको सुरुवातमा भएको शान्ति वार्ताका क्रममा उनलाई विष खुवाइएको उनीनिकट स्रोतले जनाएको छ । उपचारपछि अब्रामोभिच निको भइसकेको जनाइएको छ । इंग्लिस फुटबल क्लब चेल्सीका मालिकसमेत रहेका उनलाई आँखा सुन्निने र छाला खुइलिने लक्षण देखिएको बताइएको छ ।

अन्य दुई जना युक्रेनी मध्यस्थकर्तालाई समेत त्यस्तै लक्षण देखिएको बीबीसीले जनाएको छ । वाल स्ट्रिट जर्नलले वार्ता भाँड्न खोज्ने रुसी कट्टरपन्थीहरूले विष मिसाएको हुन सक्ने बताएको छ ।

अमेरिकी अधिकारीले भने ती व्यक्तिहरूमा प्रदूषित वातावरणका कारण त्यस्तो लक्षण देखिएको दाबी गरेका छन् । त्यस्तै युक्रेनी राष्ट्रपतिको कार्यालयले पनि अब्रामोभिचसँग कुरा नभए पनि युक्रेनी प्रतिनिधिमण्डलका सबैजना सकुशल रहेको जनाएको छ।

अब्रामोभिचले युक्रेन र रुसबीचको वार्तामा मध्यस्थकर्ताको भूमिका निभाएको बताइएको छ । तर उनको भूमिका कस्तो थियो भन्ने बारे भने केही खुलाइएको छैन । उनले यसबीचमा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई पनि भेटेको बताइएको छ। उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्बन्ध भएको आरोप लगाउँदै बेलायत र युरोपेली युनियनले प्रतिबन्ध लगाएको थियो ।

रुस–युक्रेन युद्ध

विशेष