News

पल शाह उच्च अदालतबाट धरौटीमा रिहा हुन सक्ने, यस्ता छन् आधार

पल शाह उच्च अदालतबाट धरौटीमा रिहा हुन सक्ने, यस्ता छन् आधार

अभिनेता पल शाह बालिका बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। तनहुँ जिल्ला अदालतले उनलाई मुद्दाको फैसला नहुन्जेल कारागारमै राख्न आदेश दिएको छ। उनलाई अहिले तनहुँ कारागारमा राखिएको छ।

तर, पलले थुनामुक्त गर्न माग गर्दै मंगलबार उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्। तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरिएको अभिनेता शाह पक्षका वकिल वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए। 

शाहलाई धरौटीमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरिएको उनले बताए। पीडितकै कुरा बाझिएको, उमेर ढाँटिएको र घरबेटी र उनीसँगै सुतेका व्यक्तिको बयानले पनि बलात्कार नभएको पुष्टि हुने जिकिर पुनरावेदनमा गरिएको छ। 

यसैगरी, जाहेरी ढिला पर्नु, घटना भएको भनिएको लामो समयसम्म पनि उनीहरू सँगै काम गर्नु, घुमफिर गर्नुलगायतका गतिविधिले बलात्कार नभएको पुष्टि भएको दाबी गर्दै शाहलाई धरौटीमा रिहा गरी पुर्पक्ष गर्नु पर्ने माग गरिएको छ। 

१० चैतमा  जिल्ला अदालत तनहुँले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।  आदेशअनुसार उनलाई त्यही रात तनहुँ जिल्ला प्रहरी कार्यालयको हिरासतबाट जिल्ला कारागार लगिएको छ।

उनीविरुद्ध बलात्कारकै आरोपमा नवलपरासी पूर्वमा पनि अर्को मुद्दा दर्ता छ। पल विरुद्ध एकै बालिकाले एउटै आरोपमा दुई ठाउँमा मुद्दा दर्ता गराकी छिन्। दुवै जिल्लामा पल विरुद्ध १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवानाको माग गरिएको छ।

नवलपुरको घटना २०७७ चैत ७ गतेको र तनहुँको घटना २०७८ वैशाख १४ गते भएको पीडितको उजुरीमा उल्लेख छ। नवलपरासी पुर्वमा थुनछेक बहस बाँकी नै छ। जिल्ला अदालत नवलपुरको पत्रअनुसार उनलाई पुर्पक्ष बहसका लागि तनहुँ कारागारले नवलपुरमा उपस्थित गराउनेछ।

थुनछेक बहसपछि जे आदेश भए पनि उनलाई तनहुँ कारागारमा ल्याइनेछ। जिल्ला अदालत नवलपुरले पुर्पक्षका लागि थुनामा राख्न नपर्ने आदेश दिए पनि तनहुँ जिल्ला अदालतको आदेश अनुसार उनले कारागार बस्नै पर्ने छ।

तर, दुवै अदालतले दोषी ठहर गरेर कैद सजाय तोकेको अवस्थामा पनि पलले एउटा अदालतको आदेशअनुसार मात्रै सजाय भोग्नुपर्ने कानुनी ब्यवस्था छ। कानुन ब्यवसायीका अनुसार जहाँको बढी सजाय छ, त्यही कायम गरिदिन्छ।

थुनछेक आदेशजस्तै यो मुद्दा जिल्लाको फैसलापछि उच्च अदालत र उच्च अदालतपछि सर्वोच्चसम्मै पुग्न सक्छ। त्यसो भएमा सर्वोच्च अदालतको फैसलापछि मात्रै पलको सजाय तय हुन्छ।

यो पनि

पल शाह

विशेष