News विदेश

रुसको चेतावनीः तेस्रो विश्व युद्ध भए परमाणु युद्ध हुन सक्छ

रुसको चेतावनीः तेस्रो विश्व युद्ध भए परमाणु युद्ध हुन सक्छ

युक्रेनमाथि शैनिक हमला गरेको रुसले तेस्रो विश्व युद्ध भए परमाणु युद्ध हुने चेतावनी दिएको छ। रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले यस्तो चेतावनी दिएका हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिबन्धहरूको विकल्प तेस्रो विश्वयुद्ध हुने भनेको बताउँदै लाभ्रोभले तेस्रो विश्वयुद्ध भए त्यो परमाणुयुद्ध हुने चेतावनी दिएका हुन्। लाभ्रोभका अनुसार तर त्यो कुरा ‘केवल पश्चिमा नेताको मस्तिष्कमा छ, रुसी जनताको मस्तिष्कमा छैन। यदि हामीविरुद्ध वास्तविक युद्ध सुरु भयो भने त्यस्तो योजना बनाउनेहरूले त्यसबारे सोच्नुपर्छ। मेरो विचारमा त्यस्तो योजना बनिसकेको छ।’ 

८ दिनदेखि आक्रमणमा उत्रिएको रूसले युक्रेनको कयौँ सयर तहसनहस पारिसकेको छ । उता युक्रेन पनि रूससँग कुनै हालतमा नझुक्ने भन्दै आफ्ना सम्पू्र्ण नागरिकलाई हतियार लिएर युद्धमा आउन आह्वान गरेको छ । 

विश्वका विभिन्न राष्ट्रले आफ्ना नागरिकलाई युक्रेन तथा रूसबाट फिर्ता बोलाएका छन्। द्वन्द्व बढिरहेको हुनाले ‘अत्यावश्यक’ अवस्थामा बाहेक आफ्ना नागरिकलाई रुस छोड्न फ्रान्स सरकारले आग्रह गरेको छ। अरू देशले पनि त्यस्तै सुझाव दिँदै यात्रासम्बन्धी सूचना जारी गरेका छन्।

यूकेको फरेन अफिसले पछि देश छोड्न कठिन हुने र रुसी अर्थतन्त्र तरल रहेको कारण देखाउँदै आफ्ना नागरिकलाई रुसको यात्रा नगर्न आग्रह गरेको छ। अमेरिका सरकारले पनि त्यस्तै सुझाव दिएको छ। विभिन्न कारणमध्ये उसले रुसी सुरक्षाकर्मीले अमेरिकी नागरिकसँग दुर्व्यवहार गर्न सक्ने पनि जनाईएको छ।

संयुक्त राष्ट्रसङ्घले रुसी फौजको आक्रमण युक्रेनमा विस्तार भइरहँदा करिब ९ लाख मानिसले युक्रेन छाडेको जनाएको छ। पोल्यान्डले युक्रेनमाथि आक्रमण थालिएयता चार लाख ५० हजार युक्रेनीहरू आफ्नो देश प्रवेश गरेको जनाएको छ । एक लाखभन्दा बढी मानिसहरू हङ्गेरीमा पुगेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने मानिसहरूको प्रतिरोधी क्षमताको प्रशंसा गरेका छन् । उनले रुसले बम र हवाई हमलाबाट आफ्नो देशलाई लिन नसक्ने बताएका छन् । 
 

विशेष