News

गठवन्धनभित्र ‘महानगर’ को महाभारतः कहाँ कस्को दावी ?

गठवन्धनभित्र ‘महानगर’ को महाभारतः कहाँ कस्को दावी ?

सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावमा एकताबद्व भएर जाने समझदारी गरेको हो।

बैठकले महानगरपालिकाको विषयमा केन्द्रबाटै निर्णय लिने र अन्य स्थानीय तहको हकमा तल्ला तहलाई नै निर्णय गर्न दिने सहमति भएको जनाईएको छ। गठबन्धन दलहरूबीचको समझदारी कार्यान्वयन गर्न सबै दल सम्मिलित संयन्त्र बनाईने छ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेको वैठकले यस्तो सहमति गरेपनि अन्तिम निर्णय भने भएको छैन। यो विषय त्यति सजिलो समाधान हुने अवस्था पनि छैन।

खासगरी, गठबन्धनमा रहेका दलहरुबीच ६ वटा महानगरहरुको प्रमुख पद कसले पाउने भन्नेमा समस्या देखिन थालेको छ । ६ वटा मध्ये ललितपुर  र विराटनगरमा कांग्रेसका मेयर छन भने भरतपुरमा माओवादी केन्द्रको मेयर छन्। वीरगञ्जमा जसपाबाट विजयी भएका मेयर एमालेमा प्रवेश गरेका छन् । पोखरा र काठमाडौंमा एमालेका मेयर छन ।

एमालेले जितेका काठमाण्डौं र पोखरा मध्ये कुनै एक महानगरपालिकामा एकीकृत समाजवादीले दाबी गर्न थालेको छ। काठमाडौं र पोखरामा पहिलादेखि नै कांग्रेसका नेताहरुले दावी गरिरहेका छन् । 

संघीय राजधानी समेत रहेको काठमाण्डौंमा कांग्रेसले एकिकृत समाजवादीलाई छोड्ने सम्भावना कम छ। एमालेको बलियो पकड रहेको काठमाडौं राजधानी भएकैले छोड्न नचाहेको कांग्रेसले त्योभन्दा बलियो पकड भएको पोखरा झन कसरी छोड्ला भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । अर्कोतर्फ एकिकृत समाजवादी पोखरामा भन्दा काठमाण्डौमा बलियो छ। यसरी हेर्दा एकिकृत समाजवादीको दावी काठमाण्डौंमा वढि हुनेछ।

कांग्रेसलाई पनि पोखरा र काठमाडौमध्ये एउटा महानगर एकीकृत समाजवादीलाई दिनै पर्ने बाध्यता छ। काठमाडौं एकीकृत समाजवादीले पाउने अवस्थामा जीवनराम श्रेष्ठ मेयरमा उठ्ने चर्चा भइरहेको छ । श्रेष्ठको काठमाडौंको कोर नेवार समुदाय र बुद्धधर्म मान्ने नेवार समुदायमा बलियो पकड रहेकोले उनलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ। 

एमालेले विद्यासुन्दर शाक्यलाई दोहोर्याउने अवस्थामा केशव स्थापितले पनि जीवन राम श्रेष्ठलाई सहयोग गर्न सक्ने कतिपयको आँकलन छ। काठमाण्डौं कांग्रेसले पाउने अवस्थामा भने भीमसेन दास प्रधान र तीर्थराम डंगोलमध्ये एकजनालाई उम्मेदवार बनाउने संभावना रहेको । हालकी उपमेयर हरिप्रभा खड्गीको पनि मेयरमा दावी गरिरहेकी छिन्। कांग्रेसमा एकातिर बलियो उम्मेदवार नहुने र अर्कातिर एमालेजतिको बलियो संगठन नभएकोले पनि कांग्रेसले एकीकृत समाजवादीलाई छोड्न सक्ने आंकलन छ। 

उसो त चितवनको भरतपुर महानगरमा पनि कांग्रेसको जोडवल पछिल्लो समय वढेको छ। भरतपुर महानगरमा कांग्रेसीले यसपटक कुनै हालतमा माओवादीलाई समर्थन गर्न नसकिने अडान राखिरहेका छन् । तथापी सभापति शेरवहादुर देउवा भने भरतपुर माओवादीलाई दिएर आफनो राजनीति सहज वनाउने पक्षमा देखिएका छन्। तर, भरतपुरमा डा. शेखर कोईरला पक्षधर कांग्रेसको वाहुल्यता छ। यसकारण जवर्जस्ती तालमेल गरे विद्रोह हुनसक्ने सम्भावना पनि उत्तिकै छ। प्रचण्डका वाउछोरीका लागि देउवाले चितवनमा कांग्रेस सिद्याएको आरोप लागिरहेका वेला आफनो राजनीति जोगाउन चितवनका कांग्रेसीले विकल्प नखोज्लान भन्न सक्ने अवस्था छैन।

चितवनका कांग्रेसको जोड भने ललितपुर महानगर माओवादीलाई दिने छ। तर, त्यसमा माओवादीले खासै चासो राखेको छैन । माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रसमेत पर्ने भएकोले गृहनगर भरतपुर कांग्रेसलाई जिम्मा दिँदा आफै धरापमा पर्ने प्रचण्डको वुझाई छ।

अर्कोतर्फ जसपाले जितेको विरगञ्जमा काग्रेसको बलियो दावेदारी छ। वीरगञ्जका कांग्रेसी पनि जसपालाई छोड्न नहुने पक्षमा छन् । अघिल्लो निर्वाचनमा जसपालसँग कांग्रेस २ हजार मतान्तरमा पराजित भएको थियो। त्यसैले फेरि पनि जसपालाई साथ दिदा कांग्रेसभित्र असन्तुष्टि बढ्न सक्छ । 

त्यसमाथि विरगञ्जमा मेयर जितेका बिजय सरावगी एमाले प्रवेश गरेकाले जसपा केही कमजोर भएको पनि अनुमान छ। तर, अहिलेसम्मको स्थिति हेर्दा वीरगञ्ज जसापाले पाउने र विराटनगरमा जसपाले कांग्रेसलाई छोड्ने संभावना भने वढेको नेताहरु बताउँछन्।

विराटनगरमा पनि कांग्रेससँग जसपाकै प्रतिस्पर्धा देखिएको छ । विराटनगरसँगै कांग्रेसले धरान उपमहानगर पनि कांग्रेसले दावी गरेको छ। विराटनगर र धरान कांग्रेसले लिएमा इटहरी उपमहानगर भने एकीकृत समाजवादीले पाउने सम्भवाना छ। इटरहरीमा ०७४ को निर्वाचनमा एमालेले जितेको थियो। 

सत्ता गठबन्धन स्थानीय तह निर्वाचन

विशेष