एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियानमा ‘विप्लव’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सुरु गर्ने भएको छ। एमसीसी पक्षधरलाई देशविरुद्ध अपराध गरेको आरोप लगाएर गाउँबाट लखेट्नु पर्ने उनले बताए ।
विहिवार काठमाण्डौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले संसदबाट देशविरुद्ध अपराध गर्नेलाई गाउँबाट लखेट्ने अभियान सुरु गर्ने बताएका हुन् ।
सम्वोधनका क्रममा उनले भने –‘एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ । जसले संसदबाट हाम्रो देशविरुद्ध अपराध गरेका छन्। मालिकहरुसँग मिलेमतो गरेर यो देशलाई लिलाम गर्न खोजेका छन् । त्यो राष्ट्रघाति प्रवृत्ति, देशघाती प्रवृत्तिविरुद्ध क्रान्तिकारीहरु एकताबद्ध गर्ने अभियानमा छौं।’
चुनावका नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा ध्रुवीकरण भइरहेको पनि उनले उल्लेख गरे। आफुहरु प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउन गाउँमा पुग्नुपर्ने उनले बताए ।
‘आज नेपालमा एउटा लडाइँ चलिरहेको छ । एउटा ध्रुवीकरण चलिरहेको छ । राष्ट्रघात गर्ने मान्छेहरु अनेक किसिमको खेल लिएर आएका छन् र अहिले चुनावको एउटा हतियार चलिरहेको छ’ उनले भने–‘नेपाल ध्रुवीकरण हुँदैछ, देशभक्त र देशघातीहरुको बीचमा । राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा । दलाल र स्वाभिमानी नागरिकको बीचमा एउटा ध्रुवीकरण हुँदैछ । यो प्रक्रियालाई हामीले तिव्रता दिनुपर्छ ।’
एमसीसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानूनी मान्यताले लागू गर्न नसकिने बताए । उनले नेपालको संसद र संसदवादी दलहरु नेपाली स्वाधिनता जोगाउन असफल भएको बताए । नेपाली जनताको आकांक्षाहरू पुरा गर्ने जिम्मा कम्युनिष्ट, क्रान्तिकारीहरुको काँधमा आएको उनको भनाई छ ।