गगनलाई रावलको चुनौतीः एमसीसीको बहसमा को–को आउने हो आउ

फागुन १५ गते संसदबाट मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्दै गर्दा आफु विरुद्ध आगो ओकलेका नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई एमाले नेता भीम रावलले जवाफ फर्काएका छन् । रावलले संसदमा बोल्ने क्रममा बहस कहाँ गर्ने ? भनेर प्रश्न गर्ने थापालाई को–को आउने हो आउ भनेर चुनौती दिए ।
एमाले अछाम–काठमाडौं सम्पर्क मञ्चको ११औं सम्मेलनलाई सम्बोधन गर्दै रावलले एमसीसी सम्झौताको बहसमा को–को आउने हो आउ भने। ‘अर्थमन्त्री, परराष्ट्रमन्त्री, महामन्त्री, को को छन् ? आउनुस् । म उहाँहरुलाई यो सम्झौता कहाँ कहाँ राष्ट्रघात छ भनेर देखाइदिन्छु। उहाँ(गगन)ले अमेरिकी कानुन कहाँ छ, हावादारी कुरा गर्ने भन्नुभयो । म उहाँलाई पढेर सुनाउँछु’ रावलले भने–‘कहाँ लेखेको छ भन्ने कांग्रेस महामन्त्री र प्रधानमन्त्री सबैलाई सुनाउँछु ।’
संसदमा चिच्याएर एमसीसी अनुमोदन गर्दैमा राष्ट्रघात नछोपिने र इतिहासले मूल्यांकन गर्ने बताए । उनले भने– ‘संसदमा जसरी छलफल नगरी चिच्याएर सत्ता गठबन्धनले अनुमोदन गरिएको छ, यसले नेपालको स्वाधीनता र निर्णय गर्ने क्षमतामा गम्भीर आघात पुगेको छ । यसमा संलग्नलाई इतिहासले राष्ट्रिय गद्धार भनेर अंकित गर्नेछ।’
संसदमा वोल्दै महामन्त्री थापाले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए आफुलाई चारपाटा मोडेर थानकोट कटाउन, नागरिकता खोस्न र सम्पत्ति खोस्न चुनौती दिएका थिए। नेता रावलले एमासीसी राष्ट्रघाति भएको दावी गर्दै त्यसलाई पुष्टि गर्न आधा घण्टा समय मागेपछि एमसीसीका विषयमा भ्रम छरेको भन्दै थापाले आलोचना गरेका थिए ।
महामन्त्री थापाले एमसीसीको विषयमा छलफल ‘अछाममा गर्ने की काठमाण्डौंमा’ ? भन्दै रावललाई चुनौती प्रश्तुत गरेका थिए ।