News अपराध सुरक्षा

नेकपा (समाजवादी)का केन्द्रीय सदस्य बलात्कार आरोपीको पक्षमा

नेकपा (समाजवादी)का केन्द्रीय सदस्य बलात्कार आरोपीको पक्षमा

अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका नावालिग बलात्कारका अभियुक्त अभिनेता पल शाहका बारेमा सञ्चार माध्यममा नै अदालत खडा गरेर दिनहुँ तमासाले हैरान छ दमौली । अनेकखालका अनलाइन मिडिया, यूट्युवर र विभिन्न सामाजिक सञ्जालका सञ्चालक तथा प्रयोगकर्ताले यो मिडिया ट्रेण्ड चलाइरहेका छन् ।

आइतबारदेखि धेरै यूट्युवर र टिकटकरको बास तनहुँमै छ । आफ्नै युट्युब च्यानलबाट अभिनेता पलको पल–पलको खबर दिन पुगेका उनीहरू अधिकांशका हेडलाइनहरू भने अतिरञ्जित बनाउने किसिमका छन् । ‘हिरासतमा पल सुत्ने ओछ्यान यस्तो !’, ‘पूण्य गौतमसँग सनसनीपूर्ण अन्तर्वार्ता !’, ‘पल शाह चाहियो भन्दै नाराबाजी’, ‘पल शाहलाई रिहा गर’, ‘पल शाह निर्दोष छन् ।’


नाराबाजीको अग्रपंतीमा नेकपा समाजवादीका केन्द्रिय सदस्य भाइरल पुण्य गौतम देखिन्छन् । जिल्ला प्रहरी कार्यालय तनहुँ अगाडि केही दिनयता जम्मा हुने भिडलाई पुण्य गौतमले नेतृत्व नै गरेको जस्तो देखिन्छ । समाजवादीका केन्द्रिय सदस्य समेत रहेका पुण्य गौतमले ‘पल शाह चाहियो भन्दै नाराबाजी’, ‘पल शाहलाई रिहा गर’, ‘पल शाह निर्दोष छन् ।’ भन्ने नारासमेत लगाएका भिडियो फुटेज युट्युवहरुमा सार्वजनिक भएकाछन् ।

नाबालिका बलात्कारको अभियोगमा हिरासतमा रहेको नायक पल शाहलाई न्याय चाहियो भन्दै पुण्य गौतमले देखाएको तमासाको सामाजिक सञ्जालमा आलोचना समेत हुने गरेको छ । 


फेसबुकमा रियल एनालाइसिस नाम गरेका प्रयोगकर्ताले पुण्य गौतमको यो तमासलाइ लिएर आपत्ति जनाउँदै नेकपा समाजवादीको धारणा के हो भनेर प्रश्न समेत गरेका छन् । 


उनले लेखेकाछन्, ‘नाबालिका बलात्कारको अभियोगमा रहेका पल शाह हिरासतमा छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्यसमेत रहेका कथित अभियनता पुण्य गौतम आरोपितको पक्षमा भिडको नेतृत्व गर्दै सडकमा तमासा गरिरहेका छन् ! यो विषयमा त्यो पार्टीको धारणा के होला कुन्नी? आफ्नो पार्टीको केन्द्रीय कमिटी सदस्यले गर्ने सार्वजनिक गतिविधिमा  सो पार्टीको केही जवाफदेहिता हुन्न?’

सर्वोच्च अदालतको न्याय प्रशासन सम्बन्धी ऐन २०७३ को दफा १७ को उपदफा १ मा आफ्नो र आफू मताहतका अदालतको न्याय सम्पादनमा अवरोध गरेमा, फैसलाको अवज्ञा गरेका अदालतको अवहेलनामा कारबाही चलाउन सकिने उल्लेख छ। दोषी ठहर भएमा एक वर्षसम्म जेल सजाय र १० हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ। यो विषयमा कानूनकै विरुद्धमा उभिएकाहरू विरुद्ध कसले बोल्ने ? आफैँ फैसला सुनाइरहेकाहरूलाई कानुनी घेरोमा ल्याउने कसले ? गम्भीर प्रश्न खडा भएको छ ।

अभिनेता पल शाह विरुद्ध जाहेरी दर्ता भएपछिका गतिविधिहरूले पीडितलाई अझै पीडा दिने काम भइरहेको नेपाल बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी बताउँछन् । ‘नावालिगलाई जबरजस्ती करणी गरेको आरोपमा जाहेरी दर्ता भएपछि अहिले आरोपितलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ,’ सुवेदी भन्छन्, ‘यस्ता घटनामा स्वतन्त्र रूपमा छानविन गर्न दिनुपर्छ र दोषीलाई कानून बमोजिम कारवाहीको दायरामा ल्याउनुपर्छ, यसरी प्रविधिको दुरूपयोग गरी अनुसन्धान प्रक्रियालाई नै प्रभावित पार्न खोज्नु राम्रो होइन् ।’


गाडीमा समेत संवेदनशिल अंग चलाउने गर्थे पल शाह

पुण्य गौतम पल शाह

विशेष