News विदेश

पाकिस्तानको संकट अन्त्यका लागि इमरान खानले दिनुपर्छ : सत्तारुढ नेता

पाकिस्तानको संकट अन्त्यका लागि इमरान खानले दिनुपर्छ : सत्तारुढ नेता

इस्लामावाद । देशमा चलिरहेको राजनीतिक अशान्तिको बीचमा सत्तारुढ पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) सरकारका संस्थापक सदस्य नजीब हारुनले हालको संकट र उथलपुथल अन्त्य गर्ने एकमात्र उपाय प्रधानमन्त्री इमरान खानको राजीनामा भएको बताएका छन्। 

जियो न्युजको कार्यक्रममा हारुनले भने, ‘प्रधानमन्त्री (इमरान खान)ले राजीनामा दिनुपर्छ र पार्टीबाट अरु कुनै सदस्यलाई प्रधानमन्त्री बनाइदिनुपर्छ। अगाडि बढ्ने र यस संकटको अन्त्य गर्ने यही एक मात्र उपाय हो।'

'देशमा अब अस्थिरता कायम राख्‍न सकिँदैन र प्रधानमन्त्री इमरान खानले आफ्नो जिद्दी त्याग्नु पर्छ। पार्टी भित्रबाट अरू कसैलाई प्रधानमन्त्रीको उम्मेद्वारको रूपमा अगाडि ल्याउनुपर्छ,' उनले सुझाव दिए।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्तावको मिति नजिकिँदै गर्दा सत्तारुढ पीटीआई पार्टीका राष्ट्रिय सभाका धेरै असन्तुष्ट सदस्यहरूले सत्तारुढ दलबाट अलग भएको र मतदानमा भाग नलिने बताएका छन्।

एक जना सांसदका अनुसार तीनजना संघीय मन्त्रीले पीटीआई छोडिसकेका छन् ।

पाकिस्तानका विपक्षी दलहरूले इमरान खानलाई निष्कासन गर्न आपसी द्वेध अन्त्य गर्न लागिएकोसमेत बताइएको छ। उनीहरूले मार्च ८ मा राष्ट्रिय सभा सचिवालयमा अविश्वासको प्रस्ताव पेश गरेका थिए। 
इमरान खान सरकारले अविश्वासको प्रस्तावलाई पराजित गर्ने विश्वास व्यक्त गरे पनि विपक्षीहरूले भने खानलाई हटाएर छोड्ने दाबी गरेका छन्। 

विशेष