News

मुख्यमन्त्रीको घाटीमा झुण्ड्याइयो थाम्नै नसकिने माला 

मुख्यमन्त्रीको घाटीमा झुण्ड्याइयो थाम्नै नसकिने माला 

पाँचौँ सुदूरपश्चिम खप्तड गोल्डकप उद्घाटनका लागि पुगेका मुख्यमन्त्रीलाई २१ किलोको मालाले स्वागत गरिएको छ । आजदेखि धनगढीमा सुरु भएको सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २१ किलोको मालाले स्वागत गरेका हुन् ।


सोही अवसरमा प्रदेशकी कृषिमन्त्री विनिता चौधरी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीलाई पनि ११–११ किलोको मालाले स्वागत गरिएको हो ।

यस्तै सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह र कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीलाई पनि ११–११ किलोको माला लगाइएको हो ।

फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपको मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका हुन्। धनगढी रंगशालामा भएको उद्धघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लव विजयी भएको छ ।भारतको दिल्ली फुटबल क्लवलाई  २–१ गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुआत गरेको हो ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको  क्लबका अध्यक्ष सुरेश हमालले बताए। आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब रहेका छन्।

नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई एक लाख  पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्ट

विशेष