News

अस्पतालको प्रसुति कक्षमा भालु पस्यो 

अस्पतालको प्रसुति कक्षमा भालु पस्यो 

जिल्ला अस्पतालको उपचार कक्षभित्रै भालु पसेको छ । हिजो बिहीवार राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचार कक्षमा भालु देखिएको थियो ।

बिरामी नभएको उपचार कक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले त्यही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको पछाडिको भागबाट ओहोरदोहोर गर्ने छोटो बाटोबाट राति भालु पसेको हो ।

सुरक्षित अवस्थामा रहेको भालुलाई उद्धार गर्ने तयारी भइरहेको छ । उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय भइरहेको जनाइएको छ । उद्धारका लागि आवश्यक प्राविधिक समूह र बेहोस बनाउने औषधि सहजै नपाइने भएकाले कोषसँग समन्वय गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का वार्डेन रमेश यादवले जानकारी दिनुभयो ।
 
संरक्षण क्षेत्रको कार्यक्षेत्रभित्र नपर्ने भए पनि डिभिजन वन कार्यालयसँगै रहेर उद्धारका लागि विभिन्न क्षेत्रसँग समन्वय गर्ने कार्यमा सघाइरहेको यादवको भनाइ छ । चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै तल्लो क्षेत्र झर्ने क्रममा सदरमुकामसम्म भालु आइपुगेको अनुमान गरिएको छ ।

विशेष