News

भ्रष्टाचारको विषय चासो राख्दा वडाध्यक्षले दिए मुद्दा हाल्ने धम्की

भ्रष्टाचारको विषय चासो राख्दा वडाध्यक्षले दिए मुद्दा हाल्ने धम्की

यो हप्ता बझाङको बुङ्गल नगरपालिका र छविसपाथिभेरा गाउँपालिका सामाजिक सञ्जालमा चर्चामा रह्यो । चर्चा आलोचानात्मक थियो । आइतबार जिल्ला सदरमुकाम चैनपुरमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका विषयक अन्तर्क्रियाको  क्रममा चालु आर्थिक वर्षमा मात्र बझाङमा ११९ वटा उजुरी परेकाछन् । ११९ वटा उजुरीमध्य स्थानीय तह विरुद्ध ५४ वटा उजुरी परेका छन ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा बझाङबाट सबैभन्दा बढी २२ वटा उजुरी बुङ्गल नगरपालिका विरुद्ध परेकाछन् । ६ वटा उजुरीसहित छविसपाथिभेरा गाउँपालिका दोस्रो स्थानमा परेको छ । 

अख्तियारमा गाउँपालिकाका बेथिति विरुद्ध ६ वटा उजुरीपरेपछि स्थानीयवासी स्वभावैले जनप्रतिनिधिलाई प्रश्न गर्ने नै भए । त्यहि क्रममा छविसपाथिभेरा ०५ का युवा किशोर पण्डितले आफ्ना वडाध्यक्ष लोकेन्द्र ठगुन्नालाई फेसबुकमा व्यङ्यात्मक तरिकाले प्रश्न गरे । उनको प्रश्न थियो, ‘नेता ज्यू, दह्रो मोटाइएछ त । कुम्ल्याउन पाइन्छ की के हो? भ्रस्टाचारको दोस्रो सुचीमा पर्नु भयो त?’


पण्डितले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा छविसपाथिभेरा गाउँपालिका विरुद्ध ६ वटा  उजुरी परेको र बझाङ्बाट उजुरी पर्नेमा दोस्रो स्थानमा रहेको प्रसंगलाई जोड्दै कमेन्ट गरेका थिए । 


त्यस लगत्तै वडाध्यक्ष ठगुन्नाले पण्डितलाई कमेन्टमै प्रतिउत्तर मात्रै दिएनन् । फोन गरेर बेस्सरी झपारे पनि । 

‘नेता ज्यू, दह्रो मोटाइएछ त । कुम्ल्याउन पाइन्छ की के हो? भ्रस्टाचारको दोस्रो सुचीमा पर्नु भयो त?’ भन्ने प्रश्नको प्रतिउत्तरमा वडाध्यक्ष ठगुन्ना लेख्छन्, ‘धेरै छ । तिम्लाई नी चाहिए लिन आऊ ।’

वडाध्यक्ष ठगुन्नाको यो प्रतिउत्तरबाट उनी आक्रोशित भएको प्रस्टै देखिन्छ । वडाध्यक्षलाई एउटा नागरिकले सामान्य प्रश्न गर्दा यति साह्रो पारो तताउन आवश्यक थियो? तर वडाध्यक्षको सन्केको पारो त्यतिमै सिमित रहेन । उनले प्रश्न गर्ने ती युवालाई तु फोन गरेर झपार्नसम्म भ्याए । 

प्रश्न गर्ने युवा पण्डित वडाध्यक्षलाई प्रश्नगर्दा फोनमा धम्की आएको बताउँछन् । उनी भन्छन्, ‘मैले त आम नागरिकको हैसियतले सामान्य व्यङ्यात्मक प्रश्न गरेको थिए । तर वडाध्यक्षले त्यस्तो प्रश्न किन गरेको तिम्लाई मुद्धा हाल्छु भनेर फोन काटे ।’


‘देशमा राजनीति र नेतालाई हेर्ने दृष्टिकोण एकदम नकारात्मक छ । राजनीति भनेपछी ‘फोहोरी खेल’ भनेर अधिकांश मानिस टाढै बस्छन् । नेता भनेपछि केही न केही (व्यक्तिगत) स्वार्थ बोकेको ‘चतुर’ मान्छे भनेर पढे लेखेका भलादमीहरु न आफू ‘नेता’ बन्न चाहन्छन न आफ्ना सन्ततिलाई बन्न प्रेरित गर्छन् । अनी मनोविज्ञानमा भनेजस्तो “स्वयम् पुष्टी भविष्यवाणी” हुनजान्छ । असल र पढेलेखेकाहरु एकदमै कम नेता हुन जान्छन् र देशको नेतृत्वमा भ्रष्ट नेताहरुको बाहुल्य भई देशले ठुलो दुर्गति भोग्नु पर्छ । आजको नेपालको मूल विडम्बना यहि हो ।’–समाजविद विश्व सुव्वाले एउटा लेखमा विश्लेषण गरेकाछन् । 

वडाध्यक्ष ठगुन्ना छविसपाथिभेरा गाउँपालिकाका प्रवक्ता समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट शिक्षा संकायमा स्नाकोत्तर गरेका युवा राजनितिमा आउँदा स्थानिय हर्षित भएका थिए । त्यहीकारणले पनि स्थानीय तहको निर्वाचनमा उनलाई जनताले विश्वास गरेर मत दिए । 

वडाध्यक्षले धम्की दिएको भनेर पण्डितले फेसबुकमा लेखेपछि ठगुन्नालाई आशलाग्दा शिक्षित युवा भनेर विश्वास गर्नेहरुपनि ससंकित भएकाछन् । छविसपाथिभेरा पुर्ख्यौली  थलो भएका डा.हिमाल धामीले वडाध्यक्ष ठगुन्नाले यस्तो हर्कतको अपेक्षा नगरेको प्रतिक्रिया दिएकाछन् । ‘परिणाममा भने समाजविद विश्व सुव्वाको विश्लेषण जस्तो ‘नेता भनेपछि केही न केही (व्यक्तिगत) स्वार्थ बोकेको ‘चतुर’ मान्छे’ चरिथार्त भएको छ । वडाध्यक्षलाई प्रश्नगर्न पनि अब मुद्धा खेप्नु पर्ने होकी भनेर डर मान्नु पर्ने भएको छ । 


बझाङका सिंह दरबारमा भस्ट्राचार, पहिलो स्थानमा बुङ्गल नगरपालिका दोस्रोमा छविसपाथिभेरा 

वडाध्यक्ष धम्की लोकेन्द्र ठगुन्ना छविसपाथिभेरा गाउँपालिका

विशेष