News राजनीति

पदाधिकारी भागवण्डामा माओवादी भित्र रडाको, वैठक स्थगित

पदाधिकारी भागवण्डामा माओवादी भित्र रडाको, वैठक स्थगित

पदाधिकारी भागवण्डामा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। आइतबार दिउँसो २ बजेका लागि वोलाईएको वैठक सोमवारसम्मका लागि स्थगित गरिएको हो ।

आजै बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि स्थान नै परिवर्तन गरेर तय गरिएकामा फेरि सोमबारसम्मका लागि स्थगित गरिएको एक नेताले वताए । अर्को बैठक सोमबार ११ बजे बस्ने छ। बैठकको तयारी नपुगेको तथा नेताहरुबीच आन्तरिक तयारी गर्नुपर्ने देखिएकाले बैठक स्थगित गरिएको ति नेताले बताए । 

तर, पदाधिकारी चयनका सम्बन्धमा नेताहरुबीच भागबण्डा नमिलेपछि बैठक नै स्थगित भएको बताइएको छ । पदाधिकारीमा पनि महासचिवका लागि हानथाप छ । वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, देव गुरुङ, पम्फा भुसाललगायतको महासचिवमा दाबेदारी छ । 

विशेषगरी जनार्दन शर्मा र वर्षमान पुनले सहमतिमै महासचिव पाउनु पर्ने दावी गर्दै आएका छन् । यदि सहमतिमा नभए प्रतिस्पर्धा गर्न पनि तयार रहेको उनीहरु दुवैको भनाई छ। 

माओवादी केन्द्रको पदाधिकारीमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान छ । तर अहिले अन्य पदभन्दा पनि सो पार्टीमा महासचिव को बन्ने भन्ने मै सबैको चासो देखिएको छ। 

यसैगरी वरिष्ठ उपाध्यक्षमा पनि नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराको लडाई छ। केन्द्रीय कमिटीलाई पूर्णता दिन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा पनि आकांक्षी धेरै हुँदा व्यवस्थापनमा चुनौति देखिएको नेताहरुले बताएका छन् । 

आजको बैठकमा सांगठनिक विषयमा छलफल हुने कार्यसूची रहेको थियो । जसमा केन्द्रीय कमिटीको पूर्णता दिने, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने रहेको छ । माओवादीको गत माघमा सम्पन्न महाधिवेशनले नेतृत्व चयनका साथै अपूर्ण केन्द्रीय कमिटी घोषणा गरेपनि अरु कमिटी गठन गर्न सकेको छैन ।
 

विशेष