News राजनीति

प्रचण्डको तयारीः वर्षमानलाई अर्थको ललिपप, जनार्दनलाई महासचिव

प्रचण्डको तयारीः वर्षमानलाई अर्थको ललिपप, जनार्दनलाई महासचिव

पदाधिकारी चयनमा भागवण्डा मिलाउन नसकेर आईतवार स्थगित गरिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति वैठक आज वस्दैछ। वैठक अघि नेताहरु दौडधुपमा छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा विहानैदखि नेताहरुको आउजाउ वाक्लो छ।

शुक्रबारदेखि शुरु पार्टीको केन्द्रीय समिति बैठक हिजो बस्न नसकेपछि नेताहरुको भेटघाट र छलफलले तीव्रता लिएको हो । आज नेताहरु देव गुरुङ, शिक्षामन्त्री देवेन्द्र पौडेल, अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का, मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह, रामेश्वर राय यादवले प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

खास गरी पदाधिकारी चयनका विषयमा नै उनीहरुको भेटघाट र छलफल भएको वताईएको छ। माओवादीले महाधिवेशन सम्पन्न भएको दुई महिनासम्म पनि पदाधिकारी चयन गर्न सकेको छैन। पदाधिकारी चयन हुन नसकेपछि पार्टीका गतिविधिहरु सञ्चालनमा समस्या भएको छ।

अध्यक्ष प्रचण्डलाई शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकअन्तर्गत सोमबार हुने छलफलबाट नै पार्टीको महासचिवलगायतका पदाधिकारी टुंगो लगाउनुपर्ने दबाब छ। माओवादी केन्द्रमा अध्यक्षपछिको कार्यकारी पद र प्रचण्डको उत्तराधिकारी पदको रुपमा महासचिवको पदलाई हेरिएपछि महासचिव चयन पेचिलो बन्दै गएको छ।

महासचिवका लागि चार नेता वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र देव गुरुङले दाबी गरिरहेका छन्। तर, नेता शर्मा र पुन भने सहमतिमा नभए निर्वाचन मार्फत भएपनि आफै महासचिव हुने तयारीमा छन् । प्रचण्डको प्राथमिक्ता  पनि यिनै दुई नेतामा छ।

उनले वर्षमान पुनलाई अर्थमन्त्रालय र जनार्दनलाई पार्टीको महासचिवको जिम्मेवारी दिने गरी तयारी थालेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अर्थमन्त्री परिवर्तन गर्न चाहिरहेको र यसै वेला जनार्दनलाई पार्टीमा ल्याएर पुनलाई मन्त्री वनाउने रणनीति प्रचण्डले वनाएको एक नेताले वताए ।

विरामी अवस्थामा रहेका पुनलाई महासचिव दिँदा बढी धपेडी हुने भएकोले जनार्दनलाई महासचिव बनाउने विकल्पबारे दाहालले आफना नजिकका नेताहरुसँग छलफल गरेका छन् । अर्थमन्त्री शर्माले पोलिसी ह्याक गरेको भन्दै उनको चर्को आलोचना भइरहेको छ। यसअघि अर्थतन्त्रका सूचक आरोला लागेकोप्रति अर्थमन्त्री गम्भीर नभएको विषयले समेत उनी आलोचित भएका थिए। अर्थमन्त्रीको रुपमा शर्माको आलोचना भएपछि अध्यक्ष प्रचण्डले यसअघि अर्थ र उर्जामन्त्री भइसकेका पुनलाई अर्थमन्त्री बनाउन चाहेको माओवादीकै नेताहरुले बताइरहेका छन्। 

विशेष